एमाले समूहगत छलफलको निष्कर्षः ‘व्यक्ति होइन, पार्टी र नीति स्थापित गरिनु पर्नेमा जोड’

एमाले समूहगत छलफलको निष्कर्षः ‘व्यक्ति होइन, पार्टी र नीति स्थापित गरिनु पर्नेमा जोड’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको जारी विधान महाधिवेशनको दोस्रो दिन भएको समूहगत छलफलको समूह नेताहरूले निष्कर्ष सुनाएका छन्।

प्रतिनिधिहरुले पार्टीमा व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । अघिकांश समूह नेताहरूले निष्कर्ष सुनाउने क्रममा पार्टीमा व्यक्ति हाबी हुँदै गएको बताए ।

विधान महाधिवेशनलाई ओलीमय बनाउने प्रयास गरिरहेका बेला त्यस्ता कार्य रोक्नुपर्ने, विधि र नीतिलाई जोड दिनुपर्नेमा उनीहरूको जोड छ । त्यसो त अधिवेशनमा पानीको बोटलमा समेत ओलीको फोटो टाँसिएको छ। त्यस्तै सनराईज सम्मेलन केन्द्रको गेटमै ओलीको दुई ठूूला डमी प्रदर्शनमा राखिएको छ ।

समूह नेताहरूले हालको पार्टी सञ्चालन प्रक्रियामा पनि असन्तुष्टि पोखेका छन् । असन्तुष्टि पोख्नेहरूमा प्रदेश १ को समूह नेता भानुभक्त ढकाल पनि छन् ।

उनले पार्टी एकतामा विलम्ब भएको र कम्रेडेली भावनाबाट च्यूत हुँदै गएको बताए । त्यस्तै पार्टीमा व्यक्ति स्थापित हुँदै गएको भन्दै ‘व्यक्ति होइन, पार्टी र नीति स्थापित गर्नुपर्छ भन्ने जोड दिए।

बाग्मती प्रदेशका टोली नेता आनन्द पोखरेलले पनि शीर्ष नेताहरूको नजिक हुनेहरुले मात्र अवसर पाएउने गरेको भन्दै पार्टीमा विधि बनाउनुपर्नेमा जोड दिए ।

सुझाव दिनेमा प्रदेश समूह नेताहरूमा प्रदेश नं १ बाट देवराज घिमिरे, प्रदेश नं २ बाट ज्वालाकुमारी साह, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट लीला गिरी, कर्णालीबाट गोरख बोगटी र सुदूरपश्चिमबाट कर्ण थापा रहेका छन्।

भानुभक्त ढकाल भने केन्द्रीय निकाय र आयोगबाट समूह नेताका रुपमा छन् । टोली नेताले आज सुझाव प्रस्तुत गरेपछि आइतबार राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन्।

Logo