राजसंस्था र हिन्दु धर्मलाई सम्मान र स्थान दिनु अपरिहार्य छः नेता लावती

राजसंस्था र हिन्दु धर्मलाई सम्मान र स्थान दिनु अपरिहार्य छः नेता लावती

केन्द्रबिन्दु
0
Shares

देशमा कायम अव्यवस्था अपूर्ण शान्ति प्रक्रियाको नकारात्मक प्रतिफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले बताएका छन्।

‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष, राजसंस्थालाई शान्ति निर्माण प्रक्रियामा सहभागी गराइएन। यस किसीमको निषेधले देशमा सकारात्मक शान्ति प्राप्त भएन। लोकतन्त्रको दुहाई दिएर नथाक्नेहरुको अल्पदृष्टि देश र समाजको लागि महंगो सावित भएको छ,’ कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले भने ।

एक तीन, जोरपाटीमा सम्पन्न राप्रपाको फालेलुङ गाउँ परिषद भेलालाई सम्बोधन गर्दै युवा नेता लावतीले भने, ‘देशमा नयाँ जनमत निर्माण भएको छ । यही जनचाहना बमोजिम देशको राजनीतिमा परिवर्तन र सुधार आएन भने थप जटीलताहरु सिर्जना हुन सक्दछ । राजसंस्था, धर्म, परम्परालाई सम्मान र स्थान दिनु अपरिहार्य भएको छ ।’

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मानदेव केरुङले भने, ‘पाँचथरको हकमा, राप्रपामा तन्नेरी पुस्ताको सहभागिता र आकर्षण आशा लाग्दो रुपमा बढीरहेको छ । यो समयको माग र जिल्लामा कायम युवा नेतृत्वको प्रभावसमेत हो ।’

राष्ट्रिय सन्दर्भमा टीप्पणी गर्दै उनले भने, ‘राजसंस्था र सनातन हिन्दु राष्ट्र पूनर्वहाली हुनुपर्दछ । महंगो संघीयता अफापसिद्ध सावित भएको छ । अब छिट्टै जनताको बलमा राजसंस्था र हिन्दु राष्ट्र पूनस्र्थापना हुनेछ, विकसित राजनीतिक घटनाक्रमले यही अवस्था दर्शाएको छ।’

सह–अध्यक्ष राजकुमार जोशीले भने, ‘निर्वाचन निर्देशिका बमोजिम वडा तहदेखि नै पाँचथरमा विधिवत अधिवेशन सम्पन्न गर्नु पर्दछ । कागज र श्रेष्ता मिलाउने नभएर अधिवेशनलाई जनसम्पर्क गर्ने, संगठन सुदृढ गर्ने अवसरको रुपमा उपयोग गर्नु पर्दछ ।’ 

उनले भने, ‘पद्मसुन्दर लावतीको पदचिन्हमा हिँडेका हामी कार्यकर्ताहरु इमान्दार रहनु पर्दछ । छल, ढाँट, भ्रमको खेती जनताले पचाउँदैनन्, दीर्घजीवी रहँदैन।

जिल्ला सदस्य पदम देव केरुङले सम्बोधनको क्रममा भने, ‘हिजो एउटा हावा थियो, जनतालाई ठूला, ठूला सपना बाँडिएको थियो। तर, त्यस अनुसार केही पनि काम पूरा काम भएन । यसैले विकल्पको रुपमा प्रस्तुत भएको राप्रपा प्रति जनताको चासो बढेको छ, आकर्षण र समर्थन बढीरहेको छ।’ 

कविरहाङ केरुङको अध्यक्षतामा सम्पन्न फालेलुङ गाउँ परिषद भेलाले युवेन्द्र विक्रम जवेगुको अध्यक्षतामा गाउँ कार्य समिति निर्वाचित गर्यो । दलशम्शेर बराइलीले कार्यक्रम संचालन गरेका थिए। 

विधिवत अधिवेशनलाई अवरोध गरेर एक पक्षले कार्यकर्तालाई शपथ खुवाउने, प्रमाणपत्र बाँड्ने काम गरेको भन्दै कार्यकर्ताहरुले आलोचना गरे। एक्लै, एक्लै हिँड्नेले एकताको कुरा गरेर झुटको खेती गरेको भनेर सहभागीहरुले आपत्ति जनाए।

Logo