महाधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि क्रियाशील विवाद टुंगो नलाग्नु विडम्बना: प्रकाशमान सिंह

महाधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि क्रियाशील विवाद टुंगो नलाग्नु विडम्बना: प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया सुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु विडम्बना भएको बताएका छन् ।

सोमवार नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरूलाई बधाई दिँदै उनले यस्तो बताएका हुन् । उनले भने ‘पार्टीको हाम्रो १४ औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ,सुरु भएर पनि यस पटक महाधिवेशनको प्रक्रिया सुरु भइसक्यो तर ४ वटा जिल्लामा अझै पनि क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन,१३ औँ महाधिवेशन जो नेतृत्व सम्हालेर बसिरहनुभएको छ ।  उहाँहरूले पार्टीको विधानअनुसार बहन गर्न सक्नुपर्ने काम उहाँहरूले गर्न नसकेको कुरा अहिले एकपछि अर्को घटनाहरूले प्रमाणित गरिरहेको छ ।’

उनले पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्त्याएर एकलौटी निर्णय भएको भन्दै डेमोक्रेटिक पार्टी नेपाली कांग्रेसमा अनडेमोक्रेटिक गतिविधि हुन थालेको जिकिर गरेका छन् । 

नेता सिंहले अबको महाधिवेशनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आस राखेको पनि बताए । नेता सिंहले पार्टीका केही व्यक्तिहरू पार्टी भित्र भएका अन डेमोक्रेटिक कुराहरूको विरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताए । उनले भने ‘नेपाली काँग्रेस डेमोक्रेटिक पार्टी भएकोले धाँदलीरहीत हुनुपर्नेमा जिल्लामा अहिले क्रियाशील सदस्यतामा जुन तलमाथि गर्ने, विधि प्रक्रिया पूरा नगरीकन गर्ने यस्तो बढी भइरहेको छ । दुःख लाग्ने कुरा केन्द्रीय सभापतिजीको जिल्लामा नै जिल्ला कार्यसमितिले गरेको निर्णयको खिलाफमा, जिल्ला कार्यसमितिलाई समावेश नै नगरी एकलौटी किसिमले निर्णय गर्ने, त्यसैले डेमोक्रेटिक पार्टीमा यस्तो असंवैधानिक कुराले न्याय गर्दैन, डेमोक्रेटिक पार्टी भन्ने अनि त्यसभित्र भएको अन डेमोक्रेटिक कुराहरूको विरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेका छन्,गर्न नहुने काम आफूले गर्ने,कसैले बोल्नै नपाउने भन्ने ? 

उनले सत्ता हस्तान्तरणको समय भइसकेको बताउँदै भने ‘सिनियर लिडरहरूले त अनवरत रूपमा लिइराख्नुभएको छ, अब युवालाई सत्ता हस्तान्तरणको समय भइसक्यो ।’

Logo