बझाङमा कांग्रेस अधिवेशन असोज २१ मा

बझाङमा कांग्रेस अधिवेशन असोज २१ मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृत बझाङ पुगेका छन्। निर्वाचन गर्न खटाइएका निर्वाचन अधिकृत चेतराज भट्ट अपहरणमा परेपछि केन्द्रीय निर्वाचन समितिले छिटो छरितो निर्वाचन सम्पन्न गर्न पुष्कर महर श्रेष्ठलाई बझाङ पठाएको छ।

अज्ञात समूहले जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृतलाई शनिबार राति अपहरण गरेपछि असोज १७ गते तोकिएको निर्वाचन स्थगित भएको थियो। सोमबार जिल्लाका सबै अग्रज नेताहरूको बैठक बसी असोज २१ गते जिल्ला निर्वाचन गर्ने निर्णय भएको जिल्ला स्तरका नेताहरूको भनाइ छ।

निर्वाचनमा होमिएको दुईटै प्यानलले एकअर्कालाई निर्वाचन अधिकृत गायब पारेको आरोप लगाउँदै आएका छन्। निर्वाचनमा पूर्व मन्त्री अर्जुनजङ्गबहादुर सिंह, पूर्वमन्त्री सुरेश मल्ल, पूर्वजिल्ला सभापति सत्यराज भण्डारी, संविधानसभा सदस्य चन्द्रा जोशी र नेता चेतराज बजालले खडक बोहरा सभापति रहेको संयुक्त प्यानल अघि सारेको थियो।

पूर्वराज्य मन्त्री नरेश बहादुर सिंह तथा पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहले रमेश भण्डारी सभापति रहेको प्यानल अघि सारेका छन्। नेताहरूले अघि सारेका दुवै प्यानलको कडा प्रतिस्पर्धा हुने अवस्था सिर्जना भएको थियो। स्वच्छ निर्वाचन प्रतिस्पर्धामा आफूले समर्थन गरेको प्यानल नै पराजित हुने अवस्था सिर्जना भएपछि कुनै एक प्यानलका कार्यकर्ताले मतदान अधिकृतलाई अपहरण गरेको बताइएको छ।

अपहरणमा परेका निर्वाचन अधिकृत भट्ट पनि सम्पर्कमा आइसकेका छन्। उनले आफूलाई राति अज्ञात समूहले अपहरण गरेर गाडीमा हालेर अत्तरिया छोडिदिएको बताएका छन्। अहिले आफू सकुशल रहेको उनले बताएका छन्। स्वच्छ निर्वाचन गराउन खोज्दा आफू अपहरणमा परेको उनको प्रतिक्रिया छ।न्युज कारखाना

Logo