पार्टी महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण, महाधिवेशन पछि आन्दोलन: कमल थापा

पार्टी महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण, महाधिवेशन पछि आन्दोलन: कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण भएको  बताउँदै महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने बताएका छन्।  

पुर्वान्चल क्षेत्रको भ्रमणका क्रममा आज बिर्तामोड पुगेका थापाले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदुरदर्शिता र अकर्मण्यताका कारण मुलुक संकटग्रस्त भएको बताउँदै भ्रस्टाचारले देशलाई थला पारेको बताए। धर्मपरिवर्तन, बेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्बादीतर्फ धकेलिने थापाको टिप्पणी थियो। 

केन्द्रमा पार्टी एकतापछि तल्लो तहसम्म एकताको सन्देश पुर्याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र उर्जा दिनका निमित्त सक्रियता र गतिशीलता जरुरी भएको बिचार ब्यक्त गरे। पार्टी सञ्चालनका क्रममा केही त्रुटि र कमजोरी भएको स्विकार्दै थापाले आगामी दिनमा बिगतका कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता ब्यक्त गरे। 

मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने आफ्नो योजनालाई सबैको साथ सहयोग लिएर पूरा गराई छाड्ने दृढतासमेत थापाले ब्यक्त गरे। निष्ठा , सिद्धान्त र आदर्शको राजनीति अहिलेको आवश्यकता भएको चर्चा गर्दै थापाले राष्ट्रिय स्वाधिनताको निमित्त राष्ट्रवादी देशभक्त शक्तिहरु एक ठाउँमा उभिनु पर्ने आवश्यकतासमेत औंल्याए। सो अवसरमा पार्टीका नेताहरु राजेन्द्र लिङ्देन, राम थापा लगायतको उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष केशव ओझाले जिल्लाको सांगठानिक अवस्थाबारे जानकारी गराएका थिए।

Logo