सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दाबी

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दाबी

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह रहेका छन् । आइतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्धय गोकुलप्रसाद बास्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन् ।

पूर्व सञ्चार मन्त्री समेत रहेका सांसद बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै समितिका सभापति भरत शाहको राजीनामा समेत माग गरे । उनले भने, ‘हामी लोकतान्त्रिक अभ्यासमा छौँ । यो हाम्रो प्रणाली मात्रै होइन जीवन पद्धति पनि हो । र हाम्रा परम्पराहरू, व्यवस्थाहरूको कारणले गर्दा पनि अरूलाई हाम्रा अभ्यासहरूको कारणले पनि अपवादबाहेक लेखा समितिको नेतृत्व सामान्यतया: संसार भरी नै प्रतिपक्ष दलले गर्ने व्यवस्था छ । यस सम्बन्धमा म ध्यानाकर्षण मात्रै गराउन सक्छु सभापतिज्यूसँग व्यक्तिगत भन्दा पनि आफूले प्रणालीको कुरा उठाउन चाहे । म अनुरोध गर्न चाहन्छु, सन्देश दिन चाहन्छु–अहिलेको सत्ता पक्षलाई लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्ने कुरा । त्यसको अर्थ हाम्रो परम्परागत प्रणाली र मर्यादालाई नभत्काइयोस् भन्ने कुरा चाहन्छु ।’

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाई प्रति ऐक्यबद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गरे । उनले प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिई राख्न नपाउने बताए । सांसद गौतमले भने, ‘संसदीय अभ्यासमा संसद् र सार्वजनिक लेखा समितिको भूमिका र यसले सम्पादन गर्नुपर्ने कार्य सम्पादनको क्षेत्रमा प्रमुख प्रतिपक्षको रोल सरकार भएपछि सरकारलाई चेक एन्ड ब्यालेन्स गर्ने यी दुईवटा संस्थाहरूको नेतृत्व र अगुवाइको सन्दर्भमा सैद्धान्तिक अभ्यास र परम्पराको हिसाबले नेकपा एमालेका तर्फबाट यी कुराहरू राखी राखेका छौँ । त्यस हिसाबले चाहे पारदर्शिताको, चाहे जबाफदेहिताको कुरा गर्नुहुन्छ भने सरकार एउटा अथोरिटी हो भने त्यसलाई संसद् वा सार्वजनिक लेखा समितिको ठाउँबाट चेक एन्ड ब्यालेन्स गर्ने विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउनका निमित्त त्यसको अगुवाइ र नेतृत्व प्रमुख प्रतिपक्षले गर्नुपर्छ भन्ने कुरा म यहाँ दर्ज गर्न चाहन्छु । दोस्रो कुरा प्रमुख प्रतिपक्षको रचनात्मक भूमिकाको माग भइरहेको बेलामा हाम्रा अभ्यास र परम्परालाई फलो गरेर जानु पर्दछ ।’

यता, सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिए । उनले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ समेत दिएका छन् । सभापति शाहले आफू २०५६ सालदेखि संसद्मा रहेको तर समितिका विगतका सभापतिहरूले राजीनामा नदिएको प्रसंग उल्लेख त्यसै गरेर अघि बढ्ने धारणा समेत राखेका छन् । सभापति शाहले विपक्षले सो कुरा उठाउनु धर्म भएको भन्दै त्यसले प्रजातन्त्र सुदृढ भएर जाने विश्वास समेत व्यक्त गरे ।

Logo