दिनभरका मुख्य खबरः सर्वोच्चमा अलमल, राजनीतिमा गनथन

दिनभरका मुख्य खबरः सर्वोच्चमा अलमल, राजनीतिमा गनथन

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध आन्दोलन घोषणा गर्न नेपाल बार एसोसिएसनको बैठक बसेर सुरु भएको शुक्रबारको दैनिकी नेपाल बारको बैठकले प्रधानन्यायाधीशको बेञ्च बहिष्कार गर्नेमा आएर टुंगिएको छ। 

यसबीचमा राजनीतिलाई तरंगित गर्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको तीनवटै तहका निर्वाचन एकै पटक गर्ने प्रस्तावदेखि नेकपा एमालेले महाधिवेशनमा प्रतिनिधिको संख्या बढाउनेसम्मका राजनीतिक घटनाक्रममा केन्द्रित भए ।

यस्ता छन् दिनभरका मुख्य खबर :

नेपाल बार लचक

प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन घोषणा गर्न भन्दै बसेको नेपाल बार एसोसिएसनको बैठक अन्ततः कानुन व्यवसायीलाई इजलासमा फर्कन आह्वान गर्दै सकियो । 

आन्दोलनका कारण मुद्दा सुनुवाइ प्रभावित भएपछि बारले प्रधानन्यायाधीशको बेञ्च बहिष्कार गरेर अन्य मुद्दामा बहस गर्न जाने निर्णय गर्‍यो । तिहारसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गर्न बारको बैठक चलिरहेका बेला प्रधानन्यायाधीशविरुद्धको आन्दोलनका पक्ष र विपक्षमा खडा भएका दुई वकिलले बार परिसरमै लात्तीमुंग्री खेलेर रमिता पनि देखाउन भ्याए । 

प्रधानमन्त्री देउवा गए बेलायत

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९कोप २६०मा भाग लिन बेलायत प्रस्थान गरेका छन् ।

देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्थान गरेका हुन् । स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने सम्मेलनमा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । उनको अनुपस्थितिमा गृहमन्त्री बालकृष्ण खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

४८ दिनमा संसद सकियो

सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातिदेखि संघीय संसदको चालू अधिवेशन अन्त्य गरेकी छन् । ४८ दिन चलेको संसदमा एमालेले निरन्तर अवरोध गरिरह्यो । अवरोधका बीच बजेट प्रतिस्थापन विधेयक पािरत भएर केही प्रतिवेदन पेस हुनुबाहेक संसदले प्रभावकारी काम गर्न पाएन । 

डेढ वर्षपछि खुल्यो भद्रपुर नाका

सरकारले सबै नाका खोल्ने निर्णय गरेको एक महिनापछि मात्र झापाका दुई ठूला नाका सहज भएका छन् । पूर्वी नाका काकँडभिट्टा र भद्रपुर नाकामा केही सहज भएको हो । पूर्वी नाका काँकडभिट्टामा विगतदेखि नै मान्छेको आवतजावत हुँदै आएको भए पनि नाका सहज थिएन । सरकारले गत असोज पहिलो साता देशभरका नाका साविककै अवस्थामा ल्याउने निर्णय गरेको थियो ।

विगतमा पूर्वीनाका काँकडभिट्टामा आवश्यक प्रक्रिया पूरा गरेपछि भारतीय निजी सवारी सहजै नेपाल आउन पाउँथे । तर, कोरोना महामारीले नाका बन्द भएपछि सवारी प्रवेशमा रोक लगाइएको थियो ।

टुनामुना गरेको भन्दै छिमेकीले नै खुवाए मलमुत्र 

महोत्तरीको औरही नगरपालिका(९ अग्लेसराका भकती ठाकुर गत बिहीबार खाना खानै लाग्दा छिमेकी रामकिला देवीले चर्को स्वरमा बाहिर बोलाइन् । 'के भएछ ?'भन्दै ठाकुर निस्किएका मात्र थिए, रामकिला देवीसँगै आएका उनका छोरा रामउदेश मण्डल, वितियादेवी मण्डल र उनका छोरा कृष्ण मण्डलले भकती ठाकुरलाई आँगनमा नपुग्दै एक्कासि आक्रमण गर्न थाले । कसैले लाठी बर्साउन थाले, कसैले मुक्का प्रहार गरे । उनीहरू सबै मिलेर भकतीलाई टुनामुना गरेको भन्दै गिलासमा ल्याएको मलमुत्र जबर्जस्ती खुवाए ।

लिम्पियाधुरामा जनगणनाको माग गर्दै जनगणना कार्यालयमा ताला

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले जनगणना कार्यालय दार्चुलामा शुक्रबार तालाबन्दी गरेका छन् । भारतले अतिक्रमण गरेको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका गाउँहरूमा समेत जनगणना गर्नुपर्ने माग गर्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।

छियाछिया मोटर मार्ग, यात्रुलाई सास्ती

गएको असार-साउनमा वर्षासँगै आएको बाढी-पहिरोले ढोरवाराही मोटर मार्गको सडक छियाछिया बनाएको छ ।

दुलेगौँडादेखि साँखेसम्मको ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको सडक समयमा मर्मत सम्भार नहुँदा कष्टकर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु ।

तनहुँलाई स्याङ्जाको ग्रामीण भेगसँग जोड्ने प्रमुख सडक हो यो । दुलेगौँडा बजारदेखि स्याङ्जाको हरिनास गाउँपालिका, बिरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकाका ग्रामीण भेगमा यही मोटर मार्ग भएर सवारी साधन आउजाउ गर्छन् ।

शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दी, राईपुर र फिरफिरेका गाउँगाउँका सर्वसाधारणले सवारी यात्रा गर्ने सडक हो यो ।

गाउँगाउँ पुग्ने प्रमुख सडकको दुलेगौँडा बजारबाट नजिकै पुल्चोकदेखि सुरु भएको पहिरो गाउँगाउँसम्म छ । साँघुरो सडक, त्यसमाथि पहिरोले ठाउँठाउँमा भत्किँदा कालोपत्रे सडकमा पनि कष्टपूर्ण यात्रा गर्नुपरेको यात्रुहरूको गुनासो छ ।

बाढी-पहिरोले सडक भत्किएको मात्र छैन, कतै नाला पुरिएका छन् । खोल्साखोल्सीबाट बगेर आउने पानीको उचित निकास नहुँदा सडकमै पोखरी बनेको छ । सडकको बीचमा दुर्घटनाको पासो थापेजस्तै खाल्डाखुल्डी छन् ।

१०औँ महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने

नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका लागि २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने भएको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले २७ कात्तिकमा एकै दिन देशभरबाट प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले एक हजार ९९९ जना प्रतिनिधि चयन गर्ने निर्णय गरिसकेको छ । उसले महाधिवेशन प्रतिनिधिको संख्यासमेत बढाएको छ ।

तीन तहकै चुनाव एकै पटक : माधव नेपाल

पोखरामा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबैखाले निर्वाचन एकै पटक गर्न प्रस्ताव गरेका छन् । ‘अर्ली इलेक्सन किन गर्नुपर्‍यो ? बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकै पटक गर्नुपर्छ कि भन्ने लागेको छ । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पत्ति जोगिन्थ्यो होला’, उनले भने, ‘कानुनी अड्चन छ कि छैन कुन्नि ? हामी सल्लाह गर्छौं, मिल्छ भने त्यही बाटोमा किन नजाने ?’

उनले तत्काल कुनै पनि पार्टीसँग एकीकरण नगर्ने तर चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने बताए।न्युज कारखाना

Logo