महाधिवेनशपछि एमाले एउटा भिन्नै गतिको साथ अघि बढ्नेछ: योगेश भट्टराई (भिडियाे)

महाधिवेनशपछि एमाले एउटा भिन्नै गतिको साथ अघि बढ्नेछ: योगेश भट्टराई (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने बताएका छन्। उनले भने, ‘यो महाधिवेनशपछि एमाले एउटा भिन्नै गतिको साथ अघि बढ्नेछ। एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ । एमाले अब हिँड्दैन, दौडिन्छ ।’

रिपोर्टर्स क्लबको साक्षात्कारमा शुक्रबार बोल्दै उनले पार्टीलाई पुनः सरकारमा कमब्याक गराउनेगरि अघि बढ्ने पनि विश्वास दिलाए। उनले भने, ‘एमालेले ५० प्रतिशतभन्दा बढि स्थानीय तहमा जित्ने संकल्पका साथ हामी फर्किन्छौं। अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ। यो महाधिवेशनसँगै एमाले सरकारमा कमब्याक हुनेछ। सरकारमा एमालेको कमब्याक हुन्छ, हुन्छ।’

उनले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिने पनि विश्वास दिलाए। उनले भने, ‘यो पटक पार्टीमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्ने हो। हामी त्यहीअनुसार अघि बढेका छौं। यदि सर्वसम्मत् भएन भने पार्टीमा नेतृत्वमा प्रतिष्पर्धा गर्ने छुट हरेक प्रतिनिधिलाई छ, पहिलो कुरामा महाधिवेशनमा २२ सय प्रतिनिधिहरुमध्ये हरेक प्रतिनिधिलाई प्रतिस्पर्धा गर्ने छुट छ। तर, हाम्रो मिशन भनेको एमालेमा यो पटक सर्वसम्मत् नेतृत्व चयन गर्ने हो।’

उनले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गरे। उनले अबको एकमात्रै लक्ष्य भनेको सूर्य चिन्हको बहुमत, अनि सरकार निर्माण र त्यसमार्फत समाजवादको बाटोमा जाने नै रहेको सुनाए। उनले भने, ‘हामीले कसैलाई प्रधानमन्त्री बनाउन मात्रै बहुमत मागेको होइन। देशको समस्यालाई हटाउँदै समाजवादमा पुर्याउने लक्ष्य हो। यो कसले गर्न सक्छ त भन्दा ? एमालेले मात्रै गर्न सक्छ । त्यसको संकल्प महाधिवेशनले गर्छ।’

Logo