यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालकाे निर्देशन (भिडियाे)

यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालकाे निर्देशन (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् ।

बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका हुन् । उनले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरू अघि बढाउनु पर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक काममा मात्रै नभई कानुनी कामलाई पनि अघि बढाएर लैजाने बताए । मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए । उनले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठुला ढड्डाहरुलाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बर्ताएका छन् ।

मन्त्री दाहालले भने, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ । अर्को भनेको हिजोको हाम्रो काम गर्ने सिस्टम ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ । त्यसलाई पनि हल गर्नुपर्ने छ । हामीसँग अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरूको अभाव पनि छ । त्यसलाई पनि हल गर्नुपर्ने देखिएको छ । अहिलेको अवस्था हाम्रो काम गर्ने शैलीहरू हिजोकै पुराना छन् । ढड्डा राख्ने पुरानै तरिकाहरू छन् । हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौँ । ठुला ढड्डाहरुलाई सधैँ सुरक्षित गर्न सकिँदैन । त्यसलाई सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू पनि मुख्य समस्याको रूपमा रहेको छ । त्यसबारे हामी मन्त्रालयमा छलफल गरेर चाँडै निर्णय गर्नेछौँ । अर्को समस्या भनेको जसले लाइसेन लिनुभएको छ, त्यतिबेला त्यो लाइसेनको चेकजाँच गर्ने समिति हुन्छ, त्यसले लास्टमा सही गर्ने बेलामा कतै न कतै त्रुटि गरेका छन् । त्यो के कारणले भयो ठ्याक्कै हामी अहिले नै भन्न त सक्दैनौँ । त्यो कारणले गर्दा अहिले सेवाग्राहीहरू पनि समस्या भोगिरहेका छन् । एकातिर हेर्दा उहाँहरूसँग स्मार्ट लाइसेन छ । यहाँ आएर हेर्दा अहिले पनि फेल भएको हो कि भनेजस्तो छ । त्यो समस्या छ । यातायात क्षेत्रमा अलि बढी कार्यालयमा पनि ती समस्या आइ नपुग्ने, बीचमा केही मान्छेहरूले कार्यालयहरूलाई बदनाम गराउनतिर अलि बढी खोजे बिचौलियाहरूले । बिचौलियाहरूलाई रोक्नको लागि हामीले कार्यालयलाई पनि कडा निर्देशन गरेका छौँ । पत्रकारहरूले पनि बेला बेलामा आएर बिचौलियाहरूको बारेमा एस्पोज गरिदिनुपर्छ । त्यो भयो भने सेवाग्राहीहरूले अनावश्यक पैसा खर्च नगरी काम गर्न सकिन्छ । त्यो हुँदा कतिपय डुब्लिकेशनलाई पनि रोक्न सक्छौँ ।’

मन्त्री दाहालले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढीरहेकोले यसलाई पनि समाधान गरेर अघि बढ्ने बताएका छन् ।  

 

Logo