वैशाखमै पनि निर्वाचनको सामना गर्न तयार छौंः माधव नेपाल (भिडियाे)

वैशाखमै पनि निर्वाचनको सामना गर्न तयार छौंः माधव नेपाल (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन् । 

अध्यक्ष नेपालले चुनावबाट आफूहरू नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका हुन । शनिवार काठमाडाैंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी समेत गरे । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रूपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसका नेताहरू सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिबद्ध रहेको पनि बताएका छन् ।

अध्यक्ष नेपालले भने,  ‘चुनावसँग हामी आत्तिएका छैनौँ । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौँ । चुनाव यदि ज्येष्ठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ । असारमा गर्ने हो भने सामना गर्न तयार छौँ । असोजमा गर्ने हो भने सामना गर्न तयार छौँ । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ । केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ । चुनावबाट हामी आत्तिएका छैनौँ । जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौँ । यस अर्थमा चुनावको कुराबाट बरु अरू आत्तिएका होलान् । गठबन्धनको एकता तोड्न खोजिरहेका होलान् । भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान् । अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन । नमिलेपछि गठबन्धन टुट्छ । टुटिसकेपछि त्यसको फाइदा उठाउला भनेर कोही त्यो मौकाको ताकमा पनि कोही होलान् । तर आज बिहान भएको बैठकमा पनि नेपाली काँग्रेसका सबै नेताहरूले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिबद्धता व्यक्त गर्नु भएको छ । स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिबद्धता व्यक्त गर्नु भएको छ । गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु । र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसको निम्ति पनि म जान तयार छु भनेर भनी सकेको हुनाले त्यसमा कुनै पनि किसिमको शंका, उपशंका गर्नुपर्ने आवश्यकता छैन । अवश्य पनि नेपाली काँग्रेस भित्र र नेपालको राजनीतिमा देशी विदेशी शक्तिहरूको अनेक खालका दाउपेचहरू पनि छन् । गठबन्धन टुटोस् भन्ने चाहना राख्नेहरू पनि छन् । गठबन्धन टुटाउन सके हुन्थ्यो भन्ने खोजिरहेकाहरू पनि होलान् । त्यस मामलामा सबैभन्दा चर्को रूपमा केपी ओली आफै लागेका छन् । अनेक खालको भ्रम दिएर, अनेक खालको पासाहरू फालेर उनले दाउपेचहरू दिई रहेका छन् । यो कुनै दाउपेचले चल्ने वाला छैन ।’

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पनि राखेका छन् । उनले स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दाबी समेत गरेका छन् । अध्यक्ष नेपालले संवैधानिक व्यवस्था अनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे । उनले भने,  ‘स्थानीय तहको निर्वाचनबारे संविधानमा लेखिएको कुरालाई हामीले सबभन्दा पहिला ध्यानमा राख्नु पर्दछ । संविधानको धारा २२५ मा प्रस्ट लेखेको छ–कि गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न भइसकेको समयदेखि ६ महिना भित्र निर्वाचन सम्पन्न गर्नु पर्नेछ । अर्थात् सम्पन्न भएको पाँच वर्ष पूरा भएको समयदेखि ६ महिना भित्र अर्थात् गाउँ सभा र नगर सभाको चुनाव कहिले सम्पन्न भयो ? भनेर हामीले त्यो समयलाई हेर्नु पर्दछ । त्यो समयलाई हेर्ने हो भने अव विवाद जतिसुकै भएता पनि असोजको २ गते अन्तिम चुनाव भएको मितिलाई आधार मान्न सकिएला । या त्यसको पाँच दिन भनौँ ७ गते चुनावको मतगणना भएको दिनलाई जोड्ने हो भने असोजको पहिलो, दोस्रो हप्ता भनेपछि ७९ सालको असोजको दोस्रो हप्तासम्मलाई मान्न सकिएला । र त्यसको ६ महिना भित्र, त्यसको ६ महिना भित्र भनेको चैत्रसम्ममा, यो सवालको बारेमा यसबारेमा अनेकौँ भ्रम बाहिर पैदा गर्न खोजिएको छ । यो भ्रमलाई चिर्नुपर्ने आवश्यकता छ ।’

अध्यक्ष नेपालले काँग्रेस नेताहरू गठबन्धनमा आबद्ध दलहरूको सहमतिमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको बताए ।

 

Logo