तीनै तहको निर्वाचनमा एमालेको बहुमत आउँछ: केपी ओली (भिडियाे)

तीनै तहको निर्वाचनमा एमालेको बहुमत आउँछ: केपी ओली (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघीय तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका हुन् । उनले सत्तारुढ गठबन्धनलाई बत्ती निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिए । आफ्नो पार्टीले निर्वाचनबाट कसैलाई पनि भाग्न नदिने अध्यक्ष ओलीको भनाई थियो । 

उनले देश, जनता, पार्टी र आन्दोलनविरुद्ध षडयन्त्र गरेर पार्टी विभाजन गर्नेहरूको भ्रममा नपरी पार्टीमा फर्किन पनि स्थानीय तहका जनप्रतिनिधिहरूलाई आह्वान समेत गरेका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको पक्षमा असाधारण काम गरेको दाबी गरे । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताए । उनले भने, ‘आउँदो निर्वाचनमा हामी बहुमत जित्छौँ, के गर्छन् होला बिचराहरू । म भनिदिन चाहन्छु–भाग्ने, उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं । यो गठबन्धन तोडेर होइन, गठबन्धन कायमै राखेर, गठबन्धनसँग लडेर हामी बहुमत प्राप्त गर्छांै भन्नेकुरा म अहिले नै भन्दिन चाहन्छु । फेरी पनि कुनै उपाय छ भने । तर हामी निर्वाचनबाट कसैलाई भाग्न पनि दिँदैनौँ । र अबका निर्वाचन बत्ती निभाएर जित्ने, मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ । कल्पना कसैले नगरे हुन्छ । त्यो पनि भनिदिन चाहन्छु । षडयन्त्रपूर्ण ढंगले पार्टी विभाजन गर्दा पनि स्थानीय तहमा पार्टीको पक्षमा आम रूपमा पार्टी नेता, कार्यकर्ता, जनप्रतिनिधिहरू दृढतापूर्वक उभिनु भयो । र, विभाजनको असर दुई डिजिटलमा पुर्‍याउन कसैले सकेन । म हाम्रो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । केही केही साथीहरू अलमलमा परेर षडयन्त्रकारी तत्त्वहरूको पछाडि भ्रमवश जानु भएको हुन सक्दछ । म अहिले पनि उहाँहरूलाई त्यस्ता भ्रममा परेर देशका विरुद्ध, जनताका विरुद्ध पार्टी, आन्दोलन र लोकतन्त्रका विरुद्धका क्रियाकलापहरूमा सरिक नहुन र पार्टीमा फिर्ता आउन हार्दिक आग्रह पनि गर्न चाहन्छु । सबै साथीहरू अलमलमा नपरौँ । हाम्रो पार्टीबाट निर्वाचित हुनु भएका साथीहरूले असाधारण राम्रो काम गर्नु भएको छ ।’

 

Logo