ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउने माधव नेपालको आरोप

ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउने माधव नेपालको आरोप

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउने गम्भिर आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरूले बचाएको दाबी समेत गरे । शनिवार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरूले विरोध गरेपछि अमेरिकाले हटाएको बताए । नेपाललाई इन्डोप्यासेफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरे पनि आफूहरूले विरोध गरेर बचाएको अध्यक्ष नेपालको तर्क थियो । फेरी ओली सत्तामा आए इन्डो प्यासेफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उनले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागि परेको बताए । 

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञा समेत दिए । ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे । अध्यक्ष नेपालले भने,  ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एउटा गठबन्धन अहिलेसम्म छ । के होला भोलि भन्ने सबैको मनमा कौतूहल चलिरहेको छ । र, कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन्, सर्त राखेर । कस्तो सर्त भन्दाखेरी पूर्वाग्रहपूर्ण सर्त छ । सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्टयाएर निकाल्नुपर्छ । माधव नेपालसहितको १४ जनालाई सिध्याई दिनुपर्छ । मुन्टयाएर निकाली दिनुपर्छ । कस्तो अपराधपूर्ण चिन्तन ? अनि यस्ता चिन्तन राख्ने मानिसहरू पानी मुनि लुकेर बसेका छन् भने पनि सिध्याउछु भनेर कराउँछन् । यस्ता खालका तत्त्वहरू नेपाली समाजमा, राजनीतिमा कहाँबाट आए ? घोडा भईदिए । यस्ता घोडाको विरुद्धमा हातेमालो गर्दै अगाडि बढ्न सक्ने हो भने मात्रै नेपाल सुरक्षित हुन सक्दछ । नेपाललाई सुरक्षित राख्ने हो भने, नेपालको राजनीतिलाई सही दिशामा लिएर जाने हो भने यस्ता तत्त्वहरूबाट होसियार रहनुपर्छ । अहिले हामी देशको हितको रक्षा गर्नुपर्ने कर्तव्यबाट अभिप्रेरित छौँ भने अर्कोतर्फ यो प्रगतिशील गठबन्धनलाई जोगाउनुपर्ने उद्देश्य पनि राखिरहेका छौँ । यस अर्थमा यो गठबन्धनलाई जसरी पनि तोड्न खोज्ने तत्त्वलाई हामी पराजित गर्न चाहन्छौँ । एमसीसीको खुलेआम पक्षमा रहेर जाने तत्त्वहरू को हुन ? जनताले चिनी सकेका छन् । र, त्यसमा हाम्रो पार्टी एकीकृत समाजवादीले भनी सकेको छ–एमसीसीलाई यथास्थितिमा हामी पास गर्न सक्दैनौँ । अव कुरा के हो त ? एमसीसी कहाँकहाँ जोडिएको छ त ? यो इण्डोप्यासेफिक अंग बनाएर आएको छ । यो अंग बनायो कसले ? त्यही वामपन्थी भनिने केपी ओलीको आफ्नै मन्त्री प्रदीप ज्ञवालीले गएर नेपाललाई इण्डो प्यासेफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए । त्यसपछि नेपाल नेपाल त्यसको अंग बन्यो । पछि श्रीलंकाको नाम काटियो । नेपालको नाम रह्यो । जब नेपालमा त्यसको हामीले जोडदार विरोध गर्‍यौँ । त्यसैको कारण अहिले बल्ल त्यसमा नेपालको नाम काटिन पुगेको छ । यो नेपाली जनताको संघर्षबाट भएको हो । केपी ओलीले सिध्याई सकेका थिए, नेपाललाई इण्डो प्यासेफिक अंग बनाउनका लागि । त्यो मान्छेको दिमागमा अहिले पनि झल्झल्ती छ । केपी आएपछि त फेरी सिध्याई दिन्छन् । फेरी बनाई दिन्छन् । त्यो हुनाले हामी रह्यौँ भने त्यो बन्दैन ।’

अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि पटक पटक दोहोर्‍याएका छन् । 

 

Logo