नेपालका निर्वाचनः कुन निर्वाचनमा कति मतदाता ?

नेपालका निर्वाचनः कुन निर्वाचनमा कति मतदाता ?

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने मतदाताको अन्तिम नामावली आइतबार सार्वजनिक गरेको छ। 

आयोगका अनुसार आगामी वैशाखमा हुने स्थानीय निर्वाचनमा सहभागी हुन पाउने कुल मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको छ। कुल मतदातामध्ये पुरुष ८९ लाख ९२ हजार १० जना, महिला ८७ लाख ४१ हजार ५३० जना र अन्य १८३ जना रहेका छन् । 

नेपालमा भएका प्रत्येक निर्वाचनमा अघिल्लोमाभन्दा पछिल्लो निर्वाचनमा मतदाताको संख्या बढ्दै गएको देखिन्छ। २०७० सालमा सम्पन्न संविधान सभा सदस्यको लागि भएको दोस्रो निर्वाचन भने अपवादमा पर्छ। किनकी यो निर्वाचनमा अघिल्लो संविधान सभा निर्वाचनमाभन्दा मतदाता संख्या घटेका थिए । 

नेपालमा पहिलो आम निर्वाचन (संसद) २०१५ सालमा भएको थियो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार उक्त आम निर्वाचनमा कुल मतदाता ४२ लाख ४६ हजार ४६८ रहेका थिए । आम निर्वाचन २०१५ फागुन ७ गतेदेखि सुरु भई अन्तिम परिणाम २०१६ वैशाख २८ गते प्रकाशित भएको थियो । 

२००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना भएपछि २०१५ सालमा भएको प्रथम आम निर्वाचनमा ४२.१८ प्रतिशत मतदाताहरूले मतदान गरेका थिए ।

तत्कालिन राजा महेन्द्रले २०१७ पुस १ गते ‘कू' गरी बहुदलिय व्यवस्था खारेज गरेका थिए। त्यसपछि उनले निर्दलीय पञ्चायती व्यवस्थाको थालनी गरेका थिए। पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन चर्केपछि २०३७ सालमा राष्ट्रिय जनमत संग्रह गरिएको थियो। 

जनमत संग्रहमा कुल मतदाता ७१ लाख ९२ हजार ४५१ रहेका थिए। जनमत संग्रहमा ४८ लाख १३ हजार ४८६ (६६.९२ प्रतिशत) मत खसेको थियो । खसेको मतमध्ये ३ लाख ७२ हजार ०६९ (७.६ प्रतिशत) बदर भएको थियो। 

जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा कुल २४ लाख ३३ हजार ४५२ (५४.७९) मत खसेको थियो भने बहुदलीय शासन व्यवस्थाको पक्षमा कुल २० लाख ७ हजार ९६५ (४५.२१) मत खसेको थियो । 

निर्वाचन आयोगले प्रकाशित गरेको ‘नेपालको निर्वाचन इतिहास’ पुस्तकमा नेपालका तत्कालिन ७५ जिल्ला मध्ये १९ जिल्लामा बहुदलीय पक्षमा धेरै मत खसेको उल्लेख गरिएको छ। बहुदलिय पक्षमा बढी मत खसेका जिल्लामा मोरङ, सुनसरी, सिरहा, उदयपुर, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रौतहट, कास्की, रूपन्देही, पाल्पा, दाङ, बर्दिया, सुर्खेत, डोटी, कञ्चनपुर र डडेलधुरा रहेका थिए। अञ्चलका दृष्टिकोणले भने १४ अञ्चलमा नै सुधारिएको पञ्चायती व्यवस्था विजयी भएको थियो ।

२०४६ सालमा देशमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालमा आम निर्वाचन भएको थियो । उक्त निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेका थिए । २०५ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले ११० ठाउँमा जितेको थियो ।  

नेपालमा पहिलो स्थानीय निर्वाचन २०४९ सालमा भएको थियो । सो निर्वाचनमा कूल मतदाता  १ करोड २० लाख रहेका थिए । कुल ३ हजार ९९५ गाउँ विकास समिति र ३६ नगरपालिकाहरूमा निर्वाचन गरिएको थियो । 

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेपछि २०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो। मध्यावधि निर्वाचनमा कूल मतदाताको संख्या १ करोड २३ लाख २७ हजार ३२९ रहेको थियो। उक्त निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेले ८८ सिट जिती संसदमा सबैभन्दा ठूलो दल बनेको थियो । 

२०५४ सालमा नेपालमा स्थानीय निर्वाचन भएको थियो। दुई चरणमा भएको उक्त निर्वाचनमा कूल मतदाता संख्या १ करोड २५ लाख ३८ हजार २७३ रहेको थियो । त्यसपछि २०५६ सालमा आम निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार सो निर्वाचनमा १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता रहेका थिए । 

२०५६ सालको आम निर्वाचनपछि देशमा धेरै राजनीतिक उतारचढाव आयो । तत्कालिन राजा ज्ञानेन्द्र शाले २०६१ माघ १९ गते ‘कू’ गरी सत्ता हातमा लिए । राजाको कदमविरुद्ध २०६२/६३ मा जनआन्दोलन भयो र राजाले संसद पुनस्थापना गरे । त्यसपछि संसदले राजसंस्था खारेज गर्यो । सशस्त्र संर्घष गरिरहेको माओवादी हतियार बिसाएर शान्ति प्रक्रियामा आयो। 

माओवादीलाई समेत समेटेर २०६४ सालमा संविधान सभा सदस्य निर्वाचन गरिएको थियो। संविधान सभा सदस्य निर्वाचनका लागि कुल मतदाता सङ्ख्या १ करोड ७६ लाख ११ हजार ८३२ रहेको थियो । यस मध्ये महिला मतदाताको सङ्ख्या ८७ लाख ३० हजार ३९० र पुरुष मतदाताको सङ्ख्या ८८ लाख ८१ हजार ४३९ थियो । यो निर्वाचनमा सबैभन्दा बढी सिट जिती तत्कालिन नेकपा माओवादी संविधान सभामा सबैभन्दा ठूलो दल बनेको थियो । 

पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपछि २०७० सालमा संविधान सभाको लागि दोस्रो निर्वाचन भएको थियो । संविधान सभाको दोस्रो निर्वाचनमा कुल मतदाताको सङ्ख्या १ करोड २१ लाख ४७ हजार ८६५ रहेको थियो । कुल मतदातामध्ये ५९ लाख ८० हजार ८८१ जना पुरुष, ६१ लाख ६६ हजार ८२९ जना महिला र १५५ जना तेस्रो लिङ्गी रहेका थिए। यो निर्वाचन मार्फत संविधान सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो। 

दोस्रो संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ सालमा तीन चरणमा स्थानीय निर्वाचन गरिएको थियो । स्थानीय तह निर्वाचन, २०७४ मा कुल मतदाता १ करोड ४० लाख ७२ हजार ४२४ रहेका थिए । कुल मतदातामध्ये पुरुष ७० लाख ७९ हजार १५३,  महिला ६९ हजार ९३ हजार १२७ र तेस्रो लिङ्गी १४४ जना रहेका थिए ।

२०७४ सालमा नै एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गरिएको थियो । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ९३८ रहेको थियो । कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६२८ पुरुष, ७६ लाख ५१ हजार १४३ महिला र १६७ तेस्रो लिङ्गी रहेका थिए । उक्त निर्वाचनमा सबैभन्दा बढी सिट जित्न नेकपा एमाले सफल भएको थियो ।न्युज कारखाना

Logo