बार्सिलोनालाई शीर्ष स्थानमा ८ अंकको अग्रता

बार्सिलोनालाई शीर्ष स्थानमा ८ अंकको अग्रता


स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले ८ अंकको अग्रता बनाएको छ ।

बुधबार राति भएको खेलमा रियल बेटिसलाई २–१ गोलले पराजित गर्दै बार्सिलोनाले ५० अंकका साथ दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई ८ अंकले पछि पारेको हो । १ खेल कम खेलेको रियल मड्रिडको ४२ अंक छ । पराजित रियल बेटिसस भने ३१ अंकका साथ तालिकको छैटौं स्थानमा रहेको छ । रियल बेटिसविरुद्ध वार्सिलोनालाई जिताउनका लागि राफिना र रोवर्ट लेवान्डोस्कीले एक–एक गोल गरे । रियल बेटिसले १ गोल उपहार पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६५ औं मिनेटमा राफिनाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ८० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा बार्सिलोनाकै जुलेस कुन्डेले आफ्नै पोस्टमा गोल गरेपछि रियल बेटिसले उपहार पाएको थियो । तर उपहार गोलले हार भने टरेन । दोस्रो हाफको अतिरिक्त समयमा विलियम कार्भालो रातो कार्ड पाउँदै मैदान छाडेपछि अन्तिम केही समय रियल बेटिस १० खेलाडीमा सिमित भएको थियो ।

Logo