बिहानैदेखि बाक्लो हुस्सु, चिसो बढ्दा जनजीवन प्रभावित

बिहानैदेखि बाक्लो हुस्सु, चिसो बढ्दा जनजीवन प्रभावित

केन्द्रबिन्दु
0
Shares

विराटनगर । बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ। अधिकांश भू-भागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ।

केही दिन अघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो। तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो।

चिसो धेरै बढेपछि सार्वजनिक स्थानहरुमा सर्वसाधारणको चहलपहल सामान्यभन्दा कम देखिएको छ। विराटनगर र आसपासको तापक्रम न्यूनतम ८ डिग्री सेल्सियसभन्दा कम मापन गरिएको छ।

चिसोका कारण झापा, मोरङ, सुनसरीमा जनजीवन प्रभावित बनेको हो। चिसो बढ्दा खासगरी वृद्धवृद्धाहरु बढी समस्यामा परेका छन्। चिसोका कारण बिरामी हुनेहरु विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने गरेका छन्।

गत साता पनि एक्कासि चिसो बढेको थियो। चिसो बढेपछि अधिकांश स्थानमा विद्यालयहरुमा विदा दिइएको थियो। त्यसपछि केही दिन घाम लाग्ने गरे पनि फेरि हुस्सु लाग्न थालेर चिसो बढ्न थालेको हो।

प्रतिकूल मौसममा कारण विराटनगरबाट हुने हवाई उडानहरु पनि प्रभावित बनेका छन्। विराटनगर विमानस्थलबाट दिउँसोसम्म कुनै पनि उडान हुन सकेको छैन।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आजे देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जनाएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Logo