अजित मिजार हत्या प्रकरणमा अनुसन्धान फितलो

अजित मिजार हत्या प्रकरणमा अनुसन्धान फितलो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अजित मिजारको हत्या प्रकरणमा अनुसन्धान फितलो भएको बताएका छन् ।

अजित मिजारको हत्या प्रकरण र संसदीय न्याय प्रणाली विषयक राजधानीमा सोमबार आयोजित अन्तरक्रिया उनले मिजारको शवको करिब ७ वर्षसम्म अन्त्येष्टी नहुनुले उक्त काण्डमा प्रहरीको अनुसन्धान फितलो भएको बताए । उनले भने, ‘अदालतमा विचाराधीन मुद्दामा धेरै खोतल्न मिल्दैन । तर, मैले जति बुझेको, अध्ययन गरेको छु, त्यसअनुसार अजित मिजार हत्याकाण्डको अनुसन्धान फितलो भएको छ । अहिलेसम्म पनि शवको अन्त्येष्टि गरिएको छैन् । यो एउटा विषय बाँकी नै छ । उनको परिवार अहिले पनि पीडामा छ । उहाँहरुलाई न्याय दिलाउन हामीले साथ दिनुपर्छ, न्यायको पक्षमा बोल्नुपर्छ ।’

नेपाल बार एसोसिएसनको सहभागिता जाहेरवालाको पक्षबाट हुने उल्लेख गर्दै उनले घटनाको फाइल उपलब्ध गराए आफूहरु न्यायको पक्षमा उभिने स्पष्ट पारे । निर्दोष फस्न नहुने र दोषीले सजाय पाउनुपर्ने बार एसोसिएसनको उद्देश्य रहेको भन्दै उनले घटनाको न्यायिक निष्कर्षमा जोड दिए ।

मिजारको न्यायका लागि दलित संघ संगठनहरुले आन्दोलन घोषणा गरेका छन् । एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले अजित मिजारको न्यायको माग गर्दै विभिन्न चरमा आन्दालन गरिरहेका हुन् ।

माघ २० देखि २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र माघ ३० गते प्रदर्शन गर्ने उनीहरूको घोषणा छ । यसअघि उनीहरूले माघ ६ गते मिजारको न्यायको लागि संघर्षरत कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए ।

के थियो घट्ना ?
पाँचखाल नगरपालिका–७ का अजित मिजार ०७१ सालदेखि पाँचखालनजिकै ज्याम्दीकी पराजुली थरकी किशोरीसँग प्रेममा थिए । दुई वर्षपछि २५ असार ०७३ मा उनीहरूले अन्तरजातीय प्रेम विवाह गरे । केटी पक्षबाट उमेर नपुगेको देखाई उनीहरूको जोडी छुट्याइयो । त्यसको भोलिपल्ट २९ असार ०७३ मा घरबाट तामाघाट बजार जान निस्किएका अजित घर फर्केनन्, उनको शव धादिङमा भेटियो । अन्तरजातीय प्रेमकै कारण अजितले ज्यान गुमाएको परिवारको दाबी छ । ‘न्याय खोज्दाखोज्दै ७ वर्ष बित्यो । अजितको हत्या नै हो भन्ने हजारौं प्रश्न छन् । तर, ठोस प्रमाण नभएको भन्दै न्याय पाइएको छैन,’ अजितका बाबु हरिभक्त भन्छन् ।

पाँच वर्षदेखि हरिभक्तले कहिले धादिङ त कहिले काठमाडौं धाइरहेका छन् । अजितको परिवारको किटानी जाहेरीपछि प्रहरीले उनकी प्रेमिकाका बुवा भोजराज पराजुली, दिदी सम्झना र काका पर्ने टेकबहादुरलाई पक्राउ गरेको थियो । तर, वस्तुनिष्ठ प्रमाण नपुगेको भन्दै जिल्ला अदालत धादिङले उनीहरूलाई २० जेठ ०७७ मा सफाइ दियो । अहिले उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ ।
७ वर्षदेखि पीडित परिवार न्यायको पर्खाइमा छन् । अजितको शव अझैसम्म त्रिवि शिक्षण अस्पतालको शवगृहमै छ ।

Logo