आजदेखि मिटरब्याज पीडित न्यायका लागि काँकडभिट्टा र कञ्चनपुरदेखि पैदलमार्च गर्दै

आजदेखि मिटरब्याज पीडित न्यायका लागि काँकडभिट्टा र कञ्चनपुरदेखि पैदलमार्च गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मिटरब्याज पीडितले न्यायका लागि फेरि आजदेखि पैदलमार्च गर्दैछन् । यसपटक पूर्वको झापा र पश्चिमको कञ्चनपुरदेखि एकसाथ पैदलमार्च लिएर उनीहरू काठमाडौं आउन लागेका हुन् ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबार झापा र कञ्चनपुरबाट एक साथ पैदलमार्च प्रारम्भ हुन लागेको जानकारी दिएको छ ।

समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार झापा र कञ्चनपुरबाट एकैसाथ पैदलमार्च सुरू हुने बताए । आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाण्डौको शान्तिवाटिका पुग्न लागेको उनले बताए ।

‘झापाको काँकडभिट्टा र कञ्चरपुरको महेन्द्रनगरबाट एकसाथ पैदलमार्च सुरु गरेर दुवैतर्फको टोली चितवनमा भेट हुनेछ । चितवनबाट संयुक्त रुपमा काठमाण्डौ छिर्ने कार्यक्रम रहेको छ,’ उनले भने ।

१५ दिनपछि काठमाडौं पुग्ने लक्ष्य राखिएको उनले बताए । यसअघि मिटरब्याज पीडितले महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ पुगेका थिए । उनीहरूका समस्या समाधान गर्न सरकारले जाँचबुझ आयोग पनि बनाएको थियो । आयोगले छानबिन पनि गरिसकेको छ ।

तर आयोगले करिब ५ हजार पीडितको फाइलमा मिलापत्र गराएकोबाहेक अझै करिब २२ हजार पीडितहरूले न्याय पाउने निश्चित छैन । आयोगले बुझाएको प्रतिवेदन सरकारी दराजमा थन्किएको छ ।

Logo