बाँदर नियन्त्रणका लागि रुख काट्ने वडाध्यक्षको उर्दीमा पोखरा महानगरले लगायो रोक [भिडियाे]

बाँदर नियन्त्रणका लागि रुख काट्ने वडाध्यक्षको उर्दीमा पोखरा महानगरले लगायो रोक [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

बाँदर नियन्त्रणका लागी रुख काट्ने वडा कार्यालयको अभियानमा पोखरा महानगरपालिकाले रोक लगाएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले बाँदर नियन्त्रणका लागी रुख काट्ने अभियान सुरु गरेको थियो । तर, महानगरपालिकाबाट कुनै निर्णय नभएको भन्दै रुख काट्ने, फाँड्ने नगर्न, नगराउन महानगरपालिकाले निर्देशन दिएको हो ।

महानगरपालिका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफ्नो रुख आफै काटौँ अभियान’ भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य (रुख काट्ने फाँड्ने) नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ ।’

यसअघि महानगरको वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले एक सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेका थिए । आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पु-याउन आग्रह गर्दै जारी गरिएको सूचनामा भनिएको थियो, ‘प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको हुँदा १० दिनभित्र मेरो रुख म काट्छु’ अभियान सञ्चालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु-याउनको लागि यो सूचना प्रकाशित गरिन्छ ।’

तर, बाँदर नियन्त्रणको लागि अरू धेरै उपाय रहँदा रहँदै रुख नै काट्ने सूचनाप्रति वातावरण संरक्षविद्हरुले आपत्ति जनाएपछि चोतर्फी विरोध भएको थियो । त्यसपछि महानगरले रोक लगाएको हो ।

Logo