मुगुका गाउँमा फैलिएको खोकी भाइरल ईन्फ्लुएन्जा भएको पुष्टि

मुगुका गाउँमा फैलिएको खोकी भाइरल ईन्फ्लुएन्जा भएको पुष्टि

केन्द्रबिन्दु
0
Shares

मुगु । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरु गाउँमा तीनजनाको ज्यान जानेगरी फैलिएको खोकी भाइरल ईन्फ्लुएन्जा पुष्टि भएको छ ।

सोरु गाउँपालिका–६ का पुरुमुरु र जिमागाउँमा भन्टै तीन साता अघिबाट फैलिएको मौसमी रुघाखोकीबाट तीन जनाको मृत्यु भएको थियो । १ सय ५० जना थला परेका थिए । थला परेकामध्ये १ सय ३५ जनामा भाइरल ईन्फ्लुएन्जा पाइएको हो । उक्त स्थानमा पुगेको चिकित्सक सहितको टोलीले जाँच गर्दा भाइरल ईन्फ्लुएन्जाको लक्षण पाइएको हो ।

बिरामीमध्ये ११ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाइरल ईन्फ्लुएन्जा पुष्टि भएको हो ।

जिल्ला अस्पात मुगुका डाक्टर कमल ढुङ्गानाका अनुसार उक्त क्षेत्रबाट १ सय ५० जनामध्ये १ सय ३५ जनामा भाइरल ईन्फ्लुएन्जाको लक्षण देखिएको थियो । संक्रमण फैलिएको क्षेत्रबाट ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । तीमध्ये १० जनाको परीक्षण गर्दा एक जनामा कोभिड–१९ को भाईरस, एक जनामा भाइरल ईन्फ्लुएन्जा बी र अरु सात जनामा भाइरल ईन्फ्लुएन्जाको रिपोर्ट प्राप्त भएको ढुङ्गानाले बताए ।

थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी महाशाखा, विश्व स्वास्थ्य संगठनको सुर्खेतस्थित कार्यालय र जिल्ला अस्पतालबाट गरी तीनजनाको डाक्टर सहितको टोली बुधबार सोरु गाउँपालिका–६ पुरुमुरु र जिमागाउँ तर्फ हिँडेको छ । डाक्टरको टोली केही दिन उक्त स्थानमा बसेर थप अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए ।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार केहीसमय अघिबाट भाइरल ईन्फ्लुएन्जा नियन्त्रण गर्न गाउँपालिकाले औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

बुधबार जिल्ला अस्पातलबाट डाक्टरसहित टोली गाउँमा पुग्ने बताइएको छ । उपाध्यक्ष शाहीका अनुसार दुबै गाउँमा अहिले बिरामीहरुको संख्या पहिलाको भन्दा घटेको छ । सोरु गाउँपालिका–६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही, सोही गाउँकी ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुशुम ढोलीको मृत्यु भएको थियो ।

Logo