रिहा भए अरुण चौधरी

रिहा भए अरुण चौधरी

केन्द्रबिन्दु
98
Shares

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका उद्योगपति अरुण चौधरी रिहा भएका छन् । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीलाई रिहा गरेको हो । उनी चौधरी ग्रुपका सदस्य तथा सीजी होल्डिङका प्रबन्ध निर्देशक हुन् ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरीलाई सीआईबीले गत माघ १८ गते काठमाडौंको लैनचौरबाट पक्राउ गरेका थियाे । साथै उनीसँगै बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौंले बिहीबार पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न भनी सोमबार दुई दिन म्याद थप्ने आदेश दिएको थियो । यज्ञप्रसाद आचार्यको इजलासले दुई दिन थुनामा राखेर अनुसन्धान सक्न र नसकिएमा हाजिर जमानीमा छाडेर अनुसन्धानको बाँकी काम पूरा गर्न भनेको थियाे । आदेशमा भनिएको थियाे, ‘यी प्रतिवादीहरुवाट थप बुझ्नु पर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र सो नभएमा म्याद थप भएको दुई दिन भित्र यी प्रतिवादीहरुवाट अब बुझ्नु पर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्नु भनि मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा १४(६) बमोजिम यो आदेश गरि दिएको छ।’

जसअनुसार आज तीनै जना रिहा भएका हुन् ।

Logo