विराटनगरमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय, दुई जना पक्राउ

विराटनगरमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय, दुई जना पक्राउ

केन्द्रबिन्दु
294
Shares

विराटनगर। विराटनगर महानगरपालिका–३ मा भेटिएको विष्फोटक बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ। घरेलु तथा साना उद्योग कार्यालय नजिकै प्रेसर कुकरमा विष्फोटक पदार्थ राखिएको थियो।

हिजो साँझ उक्त वस्तु भेटिएपछि प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको थियो। आज भैरव गणका सेनानी रभास खतिवडाको नेतृत्वमा पुगेको टोलीले निष्क्रिय बनाएको हो। टेपले बाँधिएको प्रेसर कुकरभित्र डेटोनेटर, सेफ्टी फ्युज, साबुनको डल्ला र ढुङ्गाहरु फेला परेको प्रहरीले जनाएको छ।

उक्त बस्तु राखेर आतंक सिर्जना गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पक्राउ पर्नेमा इलाम माम्सेबुङ १ गजुरमुखी घर भई काठमाडौँको भीमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारी छन्।

उनीहरुले विद्यालयहरुमा धम्की दिएर चन्दा असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। चन्दा दिन आग्रह गर्ने र नदिए बम विष्फोट गराइदिने धम्की दिने गरेको पाइएको प्रहरीले उल्लेख गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका मिश्रको साथमा रहेको झोलामा ७ वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाईको डेडकर्ड, १ किलो सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ।

Logo