पुलिस रिपोर्ट अनलाइनबाटै ७ महिनामा साढे ५ लाखले लिए सुविधा

पुलिस रिपोर्ट अनलाइनबाटै ७ महिनामा साढे ५ लाखले लिए सुविधा

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनलाइनबाटै लिने व्यवस्था गरेको छ। पछिल्लो ७ महिनामा साढे ५ लाखले अनलाइनबाटै यस्तो रिपोर्ट लिएका छन्।

प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्त भएका थिए।

तीमध्ये १ लाख ४४ हजार २१२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार ६ सय ७२ आवेदन कार्यान्वयनको क्रममा रहेका छन्। विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र लिनका लागि अनलाइन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने गरेको छ।

प्रहरीको वेबसाइटबाट सेवाग्राहीले जुनसुकै ठाउँबाट अनलाइन फर्म भर्न सक्छन्। स्वदेशमा भएका नेपाली नागरिकहरूले अनलाइन निवेदन दिँदा राहदानी, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने हुन्छ।

आवश्यक कागजातहरू सहितको निवेदन पेश गरेको करिब ५ दिनभित्र आवश्यक प्रक्रिया पूरा भएपछि निवेदककै युजर आइडीमा प्रहरी रिपोर्ट पठाइने व्यवस्था छ। सेवाग्राहीको आवेदन विवरण ठिक नभएमा, संदिग्ध व्यक्तिसँग नाम मिल्न गएमा आवेदन दिने र मुद्धा चलेका व्यक्ति एकै हुन/होईनन् ? यकिन गर्नका लागि थप अनुसन्धान गर्नुपर्ने भएकोले केही समय लाग्ने गरेको छ।

प्रहरी रिपोर्ट सम्बन्धी काम नेपाल प्रहरी प्रधान कार्यालय सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) शाखाको सहयोगमा चालचलन शाखाले गर्दछ। उक्त शाखा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत रहेको छ।

विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ भन्छन्, ‘सकेसम्म ५ दिनभित्रै प्रहरी रिपोर्ट उपलब्ध गराई राखेकाछौं। जुन विकसित देशको तुलनामा राम्रो सेवा हो। विगतका अभिलेखहरू पूर्ण नभएका कारण नाम जुध्न जाने हुँदा केही आवेदनहरू होल्डमा रहन्छन् र भेरीफाई गर्दा थप समय लाग्नसक्छ। यसका लागि आधुनिक जगतको टड्कारो आवश्यकताको रूपमा रहेको प्रविधिको प्रयोगलाई अझै सशक्त बनाउँदै सेवा प्रदान गर्न नेपाल प्रहरी प्रयासरत छ।’

अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र वितरण सुरूवात २०७६ असोज २४ गतेदेखि भएको हो। सुरूवातदेखि हालसम्म ३१ लाख ४० हजार ९८ जनाले आवेदन परेका छन्। तीमध्ये नेपाली नागरिकले स्वदेशबाट २८ लाख ९५ हजार २०२, नेपाली नागरिकले विदेशबाट २ लाख ३६ हजार १०, विदेशी नागरिकबाट ७ हजार ८९९ र शरणार्थीबाट ९ सय ८७ वटा आवेदन प्राप्त भएका थिए।

ती आवेदनमध्ये २३ लाख १७ हजार ६७३ जना स्वदेशी तथा विदेशी नागरिकहरूलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइएको छ। हाल दैनिक ३ हजार ५ सयदेखि ५ हजार ३ सयसम्म अनलाइन आवेदन प्राप्त हुने र तीमध्ये सामान्यतया ४ हजार प्रमाणपत्र उपलब्ध गराइने गरिएको छ।

Logo