आगलागी नियन्त्रणका लागि विराटनगर महानगरको पूर्वतयारी

आगलागी नियन्त्रणका लागि विराटनगर महानगरको पूर्वतयारी

केन्द्रबिन्दु
126
Shares

विराटनगर। सुक्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने भएकाले विराटनगर महानगरपालिकाले नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ। सम्बन्धित क्षेत्रमा समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो।

यसका लागि मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले विराटनगरस्थित सनसारी माईस्थानमा डिप बोरिङ जडान गरेको छ। बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानमा डिप बोरिङ जडान गरिएको मेयर कोइरालाले बताए।

बजार क्षेत्रमा आगलागी भएमा दमकलमा पानी भर्न मुख्य बजार क्षेत्रभन्दा केही पर पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता छ। ‘पुष्पलाल चोकमा पानी भरेर आएको दमकल पानी सकिएपछि फेरि भर्न पुष्पलाल चोक नै पुग्नुपर्थ्यो,’ मेयर कोइरालाले भने, ‘अब बजार र दक्षिणी क्षेत्रमा लागलागी भएमा पानी सकिने बित्तिकै सनसारी माईस्थानमा आएर दमकलले पानी भर्नेछ र घटनास्थलमा पुग्नेछ । यसबाट आगलागी नियन्त्रण गर्न निकै सहज हुनेछ।’

अन्य क्षेत्रमा पनि डिप बोरिङ जडान गरिने मेयर कोइरालाले बताए । यसअघि पुष्पलाल चोक र महानगर परिसरमा मात्रै डिप बोरिङ जडान गरिएको थियो।

सनसारी माईस्थानको डिप बोरिङबाट ५ हजार लिटर क्षमताको दमकल भर्न २० मिनेट लाग्नेछ। पुष्पलाल चोकको डिप बोरिङबाट ५ हजार लिटरको दमकमल भर्न ५ मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए।

बजार क्षेत्रमा आगलागी हुँदा दमकलमा पानी भर्न निकै समस्या भएकाले सनसारीमाईस्थानको खाली जमिनमा डिप बोरिङ जडान गरिएको पौडेलले जानकारी दिए। बजार क्षेत्रमा लागलागी भएमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यताका कारण बढी क्षति हुने गरेको थियो।

अब बजार क्षेत्रलाई लक्षित गरेर डिप बोरिङ जडान गरिएकाले आगलागी नियन्त्रण गर्न सहज हुने मेयर कोइरालाको भनाइ थियो। महानगरले विराटनगर–१४ मा पनि डिप बोरिङ जडान गर्ने तयारी गरेको जनाएको छ।

Logo