‘फियर नो मोर ! आवर फाइट अगेन्स्ट सेक्सुअल ह्यारेसमेन्ट’ विषयमा प्यानल डिस्कसन सम्पन्न

‘फियर नो मोर ! आवर फाइट अगेन्स्ट सेक्सुअल ह्यारेसमेन्ट’ विषयमा प्यानल डिस्कसन सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वर्ल्ड सोसल फोरम–२०२४’ मा वुमन इम्पावरमेन्ट नेपालको नेतृत्वमा चौंथो दिन अर्थात आइतबार ‘फियर नो मोर ! आवर फाइट अगेन्स्ट सेक्सुअल ह्यारेसमेन्ट’ विषयमा प्यानल डिस्कसन सम्पन्न भएको छ ।

‘फियर नो मोर ! आवर फाइट अगेन्स्ट सेक्सुअल ह्यारेसमेन्ट’ कार्यक्रमको प्रमुख आयोजक वुमन इम्पावरमेन्ट नेपालसँगै सहआयोजकमा जुरी नेपाल, चित्तोन कचेहेरी, र नेवाः मिसा दबूको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

प्यानल डिस्कसनमा दुई दशकदेखि महिला हिंसाका विषयमा वकालत गर्दै आएकी अधिवक्ता सर्मिला श्रेष्ठ, लेखिका, स्तम्भकार तथा सेक्सुअल ह्यारेसमेन्ट सर्भाइबर सरिता तिवारी, पत्रकार कृष्ण ज्ञवाली र प्रहरी निरिक्षक मनिसा बुढाथोकी उपस्थित थिए । डिस्कसनका क्रममा प्यानलिष्टहरुले ‘कार्यस्थलमा हुने यौन दुर्व्यवहारलाई कसरी न्युनिकरण गर्ने ? ह्यास ट्याग मि टु मुभमेन्ट र नेपाली समाजमा बलात्कारका विषयमा चर्चित बनेका मुद्दाहरु’का बारेमा वृहत छलफल गरेका थिए ।

वुमन इम्पावरमेन्ट नेपालकी अध्यक्ष रश्मिला प्रजापतीका अनुसार प्यानल डिस्कसनपछि बनाइएको मागपत्र ‘वर्ल्ड सोसल फोरम’लाई बुझाइने छ । हिंसाको बखत महिलाहरुले आफूलाई कसरी बचाउन सक्छन् भन्ने कुरा जान्न यस्ता कार्यक्रमहरु आयोजना गरिनु निकै लाभदायी हुने अध्यक्ष प्रजापतीले विश्वास व्यक्त गरिन् ।

कार्यक्रमको अन्त्यमा महिला हिंसा क्रममा सेल्फ डिफेन्स कसरी गर्ने भनेर पनि देखाइएको थियो । १५ फेब्रुअरीबाट भृकुटीमण्डपमा सुरु भएको ‘वर्ल्ड सोसल फोरम १९ फेब्रुअरीका दिन समापन हुनेछ । उक्त मेलामा संसारभरबाट ६३ भन्दा बढी राष्ट्रबाट मानिसहरुले सहभागी जनाएका छन् ।

Logo