पत्रकार सापकोटाको कृति ‘जीवगाथा’ लोकार्पण

पत्रकार सापकोटाको कृति ‘जीवगाथा’ लोकार्पण

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। लेखक तथा पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ। काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार एक समारोहकाबीच कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक ददि सापकोटाले पुस्तकको लोकार्पण गरेका हुन्।

कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवालले प्रकृति एवं जीवजनावरसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा ददि सापकोटाको ‘जीवगाथा’ विशेष रहेको बताए। जीवजनावरका आनीबानी र क्रियाकलाप सरल किसिमले लेखिएको यो पुस्तकको महत्त्व पनि रहेको उनको भनाइ छ।

उनले भने, ‘मान्छेको समाजमा भन्दा धेरै वन्यजन्तुको समाजमा रमाउने अनि तिनलाई साथी बनाउने, तिनका कथा व्यथा बुझ्ने, तिनका आनीबानी र स्वभावलाई पछ्याएर रमाइलो किसिमले लेख्ने स्वभाव ददि सापकोटाको रहेको लेखक अमर न्यौपानेको भनाइ छ। ‘ददिजीको लेख्ने तरिका रमाइलो छ। पशुपन्छीका तिनका यौनजन्य स्वभावलाई विशेष किसिमले पस्किने उहाँको लेखन मलाई मनपर्छ।’

वर्षाैंअघि चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले आफूलाई बिस्तारै जीव–जनावर आदिमा आकर्षित गरेको लेखक ददि सापकोटाले बताए। ‘सौराहामै बसेर पर्यटकलाई प्रकृतिको रसस्वादन गराउँदै जाँदा मलाई थाहा भयो- कोटेरो चराको बिहे हुन निकै गाह्रो रहेछ। जाडोयाम लाग्नासाथ भालेहरू हतारिएर उड्दै तराईतिरका अग्ला रूखमा बाघकाने टोपी जस्ता गुँड बनाउन हतार गर्दा रहेछन्,’उनले भने, ‘जसले सुन्दर, राम्रो, पानी ओत्ने, बचेरा हुर्काउन सजिलो हुने गुँड बनायो, पोथी उसैसित फकिने रहेछ। हतारिँदै निकै दिन लगाएर खाइनखाई बनाएको गुँड मन नपराइदिएपछि पोथीको मन जित्न भालेले फेरि अर्को गुँड देखाउने, गुँड बनाइसकेपछि त्यसको छतमा उभिएर प्यारी, मेरो गुँड हेर्न आइदेऊ न भन्दै बिलौना गर्ने गर्छन्। यति गर्दा पनि पोथीले मन नपराइदिएपछि भाले हेरेको हेर्यै हुन्छन्। पोथी जति अन्य सिपालु भालेले ओगटिसकेका हुन्छन्। त्यसैले कुनै कुनै भाले त्यो यामभरि पोथी नपाएरै जिल्ल पर्छन्।’

यस्ता विविध पक्षबाट आफू आकर्षित भएको र सबै मानिसमा नपुगेको जानकारी पुस्तकमार्फत दिन ‘जीवगाथा’ लेखेको लेखक सापकोटाको भनाइ छ। ‘जुँगा–दाह्री चट्ट पार्ने, तेल घसेर कपाल लरक्क लर्काउने र स्त्रीलाई आकर्षित गर्ने स्वभाव चरा र अन्य जीवमा पनि हुने रहेछ,’उनी भन्छन्, ‘मानव समाजमा जस्तै जीवजन्तुमा पनि बलात्कारीहरूले स्त्रीलाई दुःख दिने रहेछन्। तिनलाई तह लगाउने पहलमान पनि हुने रहेछन्। चोरीचकारी अनि लुकीचोरी मायाप्रेम त जीवजन्तुले पनि गाँस्ने रहेछन्।’ प्रकृतिका अनेक रहस्यमय पाटा खोज्दाखोज्दै, तिनको रसास्वादन गर्दागर्दै आफू यस पटक ‘जीवगाथा’मा आइपुगेको सापकोटाले उल्लेख गरे।

Logo