वायुको गुणस्तर सुधार गर्न ‘हावाको कुरा गरौँ’ अभियान

वायुको गुणस्तर सुधार गर्न ‘हावाको कुरा गरौँ’ अभियान

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। काठमाडौं उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ। युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले अभियानको प्रारम्भ गरेको हो।

कार्यक्रमको थालनी हुनु अघि नारायण चौरबाट पैदल मार्गको यात्रा गर्दै प्रदुषण नियन्त्रणको सचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो। ‘वायु प्रदुषण बढाउने प्रदुषक तत्वमध्ये सवारीसाधन मुख्य कारण हुन्।

यसको प्रयोग कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजानेलगायत क्रियाकलाप गर्नु अभियानमा हुनेछन्,’ महानगरका प्रवक्ता नविन मानन्धरले भने, ‘काठमाडौंको सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयबासीको आयमा टेवा पुर्‍याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवर्धन गर्ने यसको लक्ष्य हो।’

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ। त्यो दिन यहाँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत बाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ।

युएसएडका स्वच्छ हावा परियोजनाका प्रमुख भुषण तुलाधरले प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ भएको बताए। सडकमा साइकल गुडाउँदै गरेका र निर्वाध दौडिरहेका बालबालिका देखाउँदै तुलाधरले भने, ‘सडकमा सवारी साधन नभएपछि यी बालबालिकाले सडकमा निर्वाध निस्कन पाएका छन्। नत्र भए उनीहरु अभिभावकको दबाबमा कोठामा थुनिएका हुन्थे । मोबाइल चलाएको, टिभी हेरेको भनेर अभिभावकबाट गाली खाइरहेका हुन्थे।’

अभियानका क्रममा के कारणले सहरको वायु प्रदुषण भइरहेको छ। यसका असर कस्ता हुन्छन्, असर कसरी घटाउन सकिन्छ, स्थानीय अवस्था र आवश्यकताका विषयमा उपत्यका विभिन्न ठाउँहरुमा कुरा हुनेछ। महानगरपालिकाकी पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानले वायु प्रदुषण सम्बन्धी कानुनी प्रबन्ध, नागरिक समाजको बुझाइ, साझेदारको संलग्नतालगायत पक्षमा कुरा गर्दा समस्या समाधानमा सहभागिता बढ्ने बताइन्।

विश्वभर वायु प्रदुषणका कारण वार्षिक रुपमा ७० लाख मानिस मर्छन्। नेपालमा ४२ हजार १ सय र काठमाडौंमा मात्र ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदुषण हो । निर्माण सामाग्री र सवारीबाट उत्पादन भएको प्रदुषक तत्वमा पाइने नाइट्रोजन अक्साइड, कार्वन मोनोक्साइड, सल्फर डाइअक्साइड, नाइट्रेट सल्फर, एमोनियाँ, धातुको टुक्रा, कार्वन तथा प्लाष्टिकका टुक्रा समेत पाइने गरेका छन्। यी तत्व एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सक्छन्। यस्तै मानिसको फोक्सोसम्म सजिलै पुग्न सक्छन्।

वायु प्रदुषण पिएम २.५ मा मापन हुन्छ। यो भनेको धुलाका अत्यन्त मसिना कण भन्ने हो। जुन मानव कपालको व्यास भन्दा पनि साना एकाइका हुन्छन्। पीएम १० भन्दा ठूला कणहरु शरीरभित्र पस्न सक्दैनन्। पीएम १ भन्दा साना कण फोक्सोमा पुग्न सक्छन्। यसभन्दा साना कणहरु रगतमा समेत मिसिने खतरा हुन्छ। यसैकारण वायु प्रदुषण वातावरणीय मात्र होइन जनस्वास्थ्यजन्य समस्या पनि हो।

Logo