मिटरब्याजपीडितको ‘नाङ्गो पैताला मार्च’ आज

मिटरब्याजपीडितको ‘नाङ्गो पैताला मार्च’ आज

केन्द्रबिन्दु
224
Shares

काठमाडौं। पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ २३ दिनसम्म पैदलमार्च गरेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरूले मंगलबार ‘नाङ्गो पैताला मार्च’ गर्दैछन्।

मिटरब्याजी साहुहरूबाट आफूहरूमाथि भएको अन्यायविरुद्ध संघर्षमा उत्रिएका उनीहरूले न्याय पाउनुपर्ने माग गर्दै पैदल मार्च गरे भने अहिले सडक संघर्ष र विभिन्न विरोधका कार्यक्रम गरिरहेका छन्।

मिटरब्याज ठगीविरुद्ध मजदुर किसान संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार विहान साढे ११ बजेदेखि खाली खुट्टा पैदल हिडेर ‘नाङ्गो पैताला मार्च’ निकाल्ने तयारी रहेको बताए।

‘भृकुटीमण्डपबाट पैदलमार्च सुरू हुन्छ। आज हामी खाली खुट्टा मार्च गरेर प्रदर्शन गर्दैछाैँ,’ उनले भने, ‘हामीले राखेको माग पूरा हुने अवस्था नभएसम्म आन्दोलन रोकिने कुरा हुँदैन। आजको पैदलमार्च भद्रकाली, सहिदगेट, सुन्धारा, एनएसी, न्यूरोड, असन, भोटाहिटी, हुँदै शान्तिवाटिका भएर भृकुटीमण्डप फर्किने कार्यक्रम रहेको छ।’

एक हजार किमिभन्दा लामो पैदल मार्च गरेर गत शुक्रबार काठमाडौं आइपुगेका उनीहरूले त्यसयता माइतीघर लगायत क्षेत्रमा निषेधित क्षेत्र घोषणा भएपछि भृकुटीमण्डप र शान्तिवाटिकामा रहेर धर्ना दिइरहेका छन्। दिउँसो र्‍याली र विरोध सभा गरेर विरोध प्रदर्शन गर्छन्।

उनीहरूले सोमबार संघीय संसद् भवनको गेटबाट अप्रत्यासितरुपमा भित्र छिरेर सरकार, संसद् र सिंगो देशलाई नै चकित बनाइदिए। देशव्यापी कष्टपूणर् संघर्ष गर्दा पनि उनीहरूतिर ध्यान नतानिएकोमा सोमबारको घटनापछि सरकार र राजनीतिक दलहरूलाई थप दबाब पुगेको छ।

Logo