भजन शिरोमणि भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि [भिडियाेसहित]

भजन शिरोमणि भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि [भिडियाेसहित]

केन्द्रबिन्दु
112
Shares

सोमबार निधन भएको वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार अपरान्ह पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

यसअघि नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठानमा राखिएकाे उनकाे पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जलि अर्पणका लागि नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्री प्रचण्डसँगै प्रतिष्ठानमा पुगेका थिए। श्रद्धाञ्जली अर्पण गर्नका लागि गीतकार, गायक, संगीतकार, कलाकार, राजनीतिक दलका नेता नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पुगेका थिए।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिएका छन्। १९९९ साल असोज १६ गते धनकुटामा बलभद्र आचार्य र रेणु आचार्यका पुत्रका रूपमा जन्मिएका भक्तराज स्वरसम्राट् नारायणगोपालका समकालीन हुन् । २०३० सालमा रेडियो नेपालको गीत प्रतियोगितामा प्रथम भई स्वर्णपदक जितेका थिए। त्यसपछि सांगीतिक यात्रा अघि बढाएका उनले केही वर्ष रेडियो नेपालमा जागिर खाएका थिए।

उनीमाथि २०४६ साल मंसिर १९ गते राजधानीको बौद्धमा आक्रमण भएको थियो। आक्रमणमा उनको टाउकामा गम्भीर चोट लागेको थियो। २०५० सालमा क्यान्सरका कारण जिब्रो काटिएपछि उनको सांगीतिक यात्रा टुंगिएको थियो। गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि सांगीतिक क्षेत्रमै क्रियाशील छन्।

Logo