कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

केन्द्रबिन्दु
98
Shares

झापा । धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफूलाई चिनाउने जमर्को गरेको छ। उसले पहिलो पटक कला–साहित्य उत्सवको सफलतापूर्वक आयोजना गरेर नयाँ पहिचान थपेको हो।

रोटरी क्लब अफ कनकाईको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुङ्गामा कनकाई कला, संस्कृति तथा साहित्य उत्सवमा सम्पन्न भएको छ। स्थानीयदेखि राष्ट्रियस्तरका स्रष्टाले आफ्ना सिर्जना उत्सवमा प्रस्तुत गर्ने अवसर पाएका थिए।

वरिष्ठ अभिनेता नीर शाहले उद्घाटन गरेको महोत्सवको बुधबार समापन समारोहलाई नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तुलसी दिवसले सम्बोधन गरेका थिए। कनकाईले साहित्य र कलाको महत्व बुझेर महोत्सव आयोजना गरेकोमा उनले खुसी प्रकट गरेका छन्। समापनको अवसरमा राष्ट्रिय कविहरूको जमघटले आकर्षण बढाएको थियो । प्रसिद्ध कविहरू अर्जुन पराजुली, कुन्ता शर्मा, लक्ष्मण गाम्नागे, मनु मञ्जिल, डा. देवी नेपाल, धीरेन्द्र प्रेमर्षी, माया मानवीलगायतले आज आफ्ना कविता वाचन गर्दा दर्शक दीर्घाबाट वाहवाही पाएका थिए।

रोटरी क्लब अफ कनकाईका अध्यक्ष शिव कँडेलले पहिलोपल्ट सुरुङ्गामा साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाउँदै दर्शक र पाहुनाको सहभागिता उत्साहजनक रहेको बताए। उनले आगामी वर्ष महोत्सवलाई कुनै न कुनैरुपमा निरन्तरता दिइने बताएका छन्।

महोत्सवमा राष्ट्रियता झल्काउने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको रोटरी क्लब अफ कनकाईका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए। कार्यक्रममा स्थानीय जातिको भेषभूषा, नृत्य र झाँकी प्रस्तुत गरिएको उनले बताए । तीन दिनसम्म एक दर्जनभन्दा बढी कार्यक्रम महोत्सवमा सम्पन्न भएका छन्।

प्रसिद्ध कलाकार मनोज गजुरेलजस्ता साङ्गीतिक हस्तीदेखि गायिका रचना रिमाललगायतका नवोदित कलाकारसम्मको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो। नयाँ पुस्ताको आकर्षणले यो महोत्सव भव्य र सफल बनेकोलाई आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले बताएका छन्।

नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा पुस्तक मेला र पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो। महोत्सवको अर्को आकर्षण कला प्रदर्शनी रहेको थियो। चित्रकार हिम्मत नेम्वाङ र व्यङ्ग्य चित्रकार पवन राजवंशीको चित्र तथा मूर्तिकलाको त्यहाँ प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा अवलोकनकर्ताको ओइरो लागेको थियो।

विगत दुई दशकदेखि कला क्षेत्रमा समर्पित नेम्वाङका ४० वटा तेल चित्र, छाम्ने चित्र र मूर्ति कला प्रदर्शनीमा राखिएका थिए। आँखा देख्न नसक्नेले पनि छामेर थाहा पाउन सक्ने एक दर्जन चित्र प्रदर्शनीमा थिए। कार्टुनिष्ट राजवंशीका दुई दर्जन व्यङ्ग्य चित्र प्रदर्शनीमा थिए।

Logo