ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले नेपालकै ठूलो वनभोज आयोजना गर्दै, सम्पूर्ण तयारी पूरा

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले नेपालकै ठूलो वनभोज आयोजना गर्दै, सम्पूर्ण तयारी पूरा

केन्द्रबिन्दु
952
Shares

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले नेपालकै ठूलो १२औं ताप्लेजुङ वनभोजको आयोजना गर्ने भएको छ । एक पत्रकार सम्मेलन गर्दै आयोजक ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले यही फागुन १९ गते मन्थली चौर, गुण्डु, भक्तपुरमा वनभोजको आयोजना गर्न लागेको जानकारी दिएकाे हाे । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएकाे छ ।

ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने र एक दिन भए पनि दुःख, सुख साटासाट गर्ने उदेश्यले सरोकार केन्द्रले हरेक वर्ष फागुन महिनामा वनभोज आयोजना गर्दै आएको छ । उक्त वनभोज नेपालकै ठुलो वनभोज रहेको केन्द्रको दाबी छ । १२औं ताप्लेजुङ वनभोज सम्पन्न गर्नका लागि सरोकार केन्द्रका उपाध्यक्ष बलहादुर तामाङको संयोजकत्वमा वनभोज आयोजक समिति गठन गरेको र सो समितिले वनभोज सफल पार्न १० वटा उपसमितिहरू बनाई कामलाई अगाडि बढाएको वनभोज प्रचार उपसमितिका संयोजक प्रेम गुरागाईँले जानकारी दिए ।

उक्त वनभोजका लागि आर्थिक र यातायातसहितका सबै तयारी पूरा भइसकेको आयाेजकले जनाएको छ । यसपटक वनभोजको टिकट रकम एक हजार रुपैयाँ राखिएको छ । यसबाहेक जिल्लावासी व्यवसायी तथा शुभचिन्तकहरूबाट प्राप्त हुने रकमले सहयोग मिल्ने जनाएको छ । विगतका वर्षहरूमा पनि वनभोज समितिले आर्थिक रकमहरू जुटाउने कार्य गर्दै आएको थियो । साथै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपूर र भक्तपुरमा गरी २० वटा रुटहरूबाट करिब २२ वटा बसहरूको ब्यवस्थापन गरिएको छ । आवश्यकता र मागको आधारमा बसहरू थप हुनसक्ने आयोजकले जनाएको छ ।

वनभोज कार्यक्रमलाई संगीतमय र मनोरञ्जनात्मक बनाउन साँस्कृतिक उपसमितिले विशेषगरी ताप्लेजुङ झल्कने विभिन्न जातीय झाँकीहरू प्रदर्शन गर्ने र जिल्लावासी कलाकारहरूको पनि प्रस्तुति रहनेछ । देशकै ठूलो वनभोज भएकोले मानिसहरूको भिडभाड हुने भएकाले स्वयमसेकहरूबाट भईपरि आउने समस्याहरू समाधान गर्ने र आवश्यक परेको समयमा सुरक्षाकर्मी पनि परिचालन गरिने बताइएको छ ।

ताप्लेजुङ सरोकार केन्द्रमा ताप्लेजुङ घर भई काठमाडौँमा बसोबास गर्दै आएका समाजसेवी, विभिन्न राजनीतिक दलका नेता, मन्त्री, पूर्वमन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, व्यवसायी, कलाकार, विद्यार्थी सबै पक्षको सहभागिता रहेको छ । केन्द्रले अन्य विभिन्न गतिविधि पनि गर्दै आएको छ । जसमा राहत तथा सहयोग, ताप्लेजुङ मेलारमहोत्सव, पाथीभरा पदयात्रा महोत्सव र ताप्लेजुङ साँझ रहेका छन् ।

Logo