चितवनको होस्टेलमा बालिका मृत्युको घटना छानबिन गर्न परिवारको माग, बलात्कारपछि हत्या गरिएको आशंका

चितवनको होस्टेलमा बालिका मृत्युको घटना छानबिन गर्न परिवारको माग, बलात्कारपछि हत्या गरिएको आशंका

केन्द्रबिन्दु
560
Shares

काठमाडौँ। गोरखाकाे अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालिन १२ फागुनमा सोही स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उक्त घटनाको सत्यतथ्य छानविन गर्न पोखरेलले माग गरेका हुन्।

मृतक शालिनका बुवा दीपेन्द्र पोखरेलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बलात्कारपछि हत्या भएकोसमेत दाबी गरेका छन्। ‘लास झुण्डिएको अवस्था, त्यहाँको वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो’, उनले भने। पोखरेलले घटनापछि विद्यालयमा गएर सर्वपक्षीय छलफलपछि मात्रै मुचुल्का गर्न आग्रह गर्दा प्रहरीले विद्यालय परिसरभित्रै भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेकोसमेत दाबी गरेका छन्।

‘म त्यहाँ पुग्नुभन्दा पहिले नै घटना भएको छात्रावासको ढोका फोडिएको थियो, घटना भएको ठाउँमा सरसफाइ गरिसकेको थियो’ पोखरेलले भने, ‘शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा फेला परेको थियो, उक्त कुराको भिडिओ फुटेज मसँग सुरक्षित छ ।’

बलात्कारपछि हत्या गरिएको आशंकापछि विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरीवेक्षक कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले नाम हटाएर ल्याउन भनेको मृतकका बाबु दीपेन्द्रले सुनाए ।

मृतक शालिनकी आमा सगुनले आफूहरुलाई घटनाबारे ढिलो खबर गरेको र उक्त विद्यालय नजिकै बस्ने मृतककी हजुरआमासमेतलाई जानकारी नदिएको बताइन्।

Logo