विराटनगर महानगरले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन डिप बोरिङ सञ्चालनमा ल्यायाे

विराटनगर महानगरले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन डिप बोरिङ सञ्चालनमा ल्यायाे

केन्द्रबिन्दु
126
Shares

विराटनगर। विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन सनसारीमाई स्थानमा जडान गरेको डिप बोरिङ सञ्चालनमा ल्याएको छ। महानगरले बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोडिङमा दमकलबाट परीक्षणसमेत गरेको छ।

मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले शुक्रबार बिहान दुईवटा दमकलबाट परीक्षण गरेको हो।

जडान गरिएको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न २० मिनेट र ३ हजार लिटरको ट्यांकी भर्न १२ मिनेट लागेको थियो। महानगरले बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा सो स्थानबाट दमकलमा पानी भर्ने गरी डिप बोरिङ जडान गरेको मेयर कोइरालाले बताए।

यसअघि बजार र दक्षिणी क्षेत्रमा आगलागी हुँदा पानी भर्न महानगर कार्यालय परिसर र पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो। अब सो स्थानबाट पानी भर्ने व्यवस्था मिलाइएको मेयर कोइरालाले बताए। उनले अन्य ठाउँमा पनि डिप बोरिङ जडान गर्ने तयारी गरिएको जानकारी दिए।

सुक्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने गरेको छ। आगलागी नियन्त्रणको पूर्वतयारी स्वरुप महानगरले दमकलमा पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानहरूको छनौट गरी डिप बोरिङ जडान गर्ने कार्य अगाडि बढाएको कोइरालाले बताए।

पहिलो चरणमा सनसारीमाईस्थानमा जडान गरिएको छ भने अन्य स्थानमा पनि जडान गर्ने तयारी भइरहेको मेयर कोइरालाको भनाइ छ। ‘अन्य स्थानमा पनि डिप बोरिङ जडान गर्ने योजना छ,’मेयर कोइरालाले भने,‘कसरी विराटनगरवासीलाई राहत पुग्छ भनेर हामीले काम गरिरहेका छौँ। सनसारीमाईस्थानमा जडान गरिएको डिप बोरिङबाट बजार र आसपासको क्षेत्रमा आगलागी भइहाले तत्कालै नियन्त्रण गर्न सहज हुनेछ।’

अब बजार क्षेत्रमा आगलागी भइहाले समयमै नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने उपमेयर शिल्पा निराला कार्कीले विश्वास व्यक्त गरिन्। उनले समयमै पानी भरेर दमकल घटनास्थल पुग्दा क्षति कम हुने बताइन्।

डिप बोरिङको क्षमता वृद्धि गरी छोटो समयमै दमकल भर्ने व्यवस्था मिलाइने वारुणयन्त्रको समेत जम्मेवारी सम्हालिरहनुभएका महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए। पुष्पलालचोकस्थित वारुणयन्त्रको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न ५ मिनेट र महानगर परिसरको डिप बोरिङबाट २० मिनेट समय लाग्ने गरेको जानकारी दिए।

Logo