शिवरात्रिको दिन पशुपति क्षेत्रमा लागुपदार्थ सेवन गर्न नपाइने, भक्तजनले गर्न सक्छन् यी ४ ठाउँबाट प्रवेश

शिवरात्रिको दिन पशुपति क्षेत्रमा लागुपदार्थ सेवन गर्न नपाइने, भक्तजनले गर्न सक्छन् यी ४ ठाउँबाट प्रवेश

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । महाशिवरात्रिको दिन पशुपति क्षेत्रभित्र लागुपदार्थ सेवन गर्न नपाइने भएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलनकाे आयोजना गर्दै पशुपति क्षेत्र नशालु पदार्थ निषेधित क्षेत्र रहेकाले महाशिवरात्रि पर्वमा नशालु पदार्थहरूको बिक्री वितरण तथा सेवन नगर्न आग्रह गरेको हो ।

कोषले महाशिवरात्रिको सम्पूर्ण तयारी भइसकेको पनि जानकारी दिएको छ । कोषका सदस्य सचिव राजु क्षेत्रीले सुरक्षा व्यवस्थापन, पार्किङ स्थल लगायत विषयको व्यवस्थापन भइसकेको बताए । उनले महाशिवरात्रि पर्वमा लाखौंको संख्यामा पशुपतिमा दर्शनार्थी एवं भक्तजनहरूको आउने पनि जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषका अनुसार शिवरात्रिको दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाका लागि जनशक्ति परिचालन गरिनेछ । मेला क्षेत्र र दर्शन मार्गलाई समेत लक्षित गरी थप सीसी क्यामेरा जडान गरी निगरानी गरिने बताइएको छ । मन्दिर प्राङ्गणभित्र भीड व्यवस्थित गर्न नेपाली सेनाको सहयोग लिइने कोषले बताएको छ । सो दिन नेपाल स्काउट लगायतका करिब ६ हजार संख्यामा स्वयंसेवकहरू परिचालन हुने कोषको भनाइ छ ।

७० संस्थाले सेवा प्रदान गर्ने
पशुपतिनाथको मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधी र वेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहने पनि कोषले बताएको छ । कोषका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत गरेर करिव ७० वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले उक्त दिन सेवा प्रदान गर्नेछन् ।

प्रत्येक दर्शन मार्गलाई पायक पर्ने गरी एम्बुलेन्स सेवालाई हरपल तयारीको अवस्था रहने गरी व्यवस्था पनि कोषले मिलाएको छ । महाशिवरात्रिको पर्व सम्पन्न भएपछि पशुपति क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गर्ने योजना रहेको पनि कोषले बताएको छ । रात्रिकालीन समयमा समेत पशुपति मन्दिर प्राङ्गण परिसरलाई सरसफाइ गरिने छ ।

कोषले दक्षिणामूर्ति रूद्रगाडेश्वर दर्शनमार्गको दक्षिणामूर्तिमा, भुवनेश्वरी नजिक (शंकराचार्य मठ पछाडि, पञ्चदेवल दक्षिण पूर्वी कुनामा रराममन्दिर नजिक (बागमती पारी) गरी पाँच ठाउँमा जुत्ता चप्पल कक्षको व्यवस्था मिलाइएको छ । दर्शनार्थीहरु मन्दिर प्राङ्गणबाट बाहिर निस्किसकेपछि कोर क्षेत्रभित्र, जुत्ता चप्पल कक्षनजिकै तिलगङ्गा, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, उमाकुण्डमा नेपाल वेद विद्याश्रमका बटुकहरुद्वारा चन्दन वितरणको व्यवस्था मिलाइएको छ ।

कोषले भक्तजनहरुलाई दर्शनका लागि बिहान २ बजेदेखि चारै वटा ढोका खोल्ने प्रबन्ध मिलाएको छ भने पूजा बिहान सीमित संख्यामा र साँझमा ६ः०० बजेपछि मात्र विशेष पूजा गरिने बताएको छ ।

४ ठाउँबाट प्रवेश गर्न सकिने
शिवरात्रीको दिन हंशमण्डप, वनकाली र तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकी करिब ११० वटा संघसंस्थाले निःशुल्क भोजन, चिया, पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । आवास क्षेत्रनजिक अस्थायी रूपमा शौचालयको व्यवस्था मिलाइने पनि कोषले बताएको छ ।

कोषले पशुपति क्षेत्रभित्र प्लास्टिक, काँच, शिशा जस्ता फुट्ने प्रकृतिका कप प्लेट प्रयोग गर्न नपाइने पनि बताएको छ । गुहेश्वरी गौरीघाट, उमाकुण्ड दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोकाबाट –१ लाइन, मित्रपार्क–जयवागेश्वरी – ईंटापाखा भएर भुवनेश्वरी स्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका साथै बत्तिसपुतली–गौशाला, पिङ्गलास्थान सुमार्गी भवन अगाडिबाट चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट कोषले प्रवेशको व्यवस्था मिलाएको छ ।

कोषका अनुसार राममन्दिर हुँदै बागमती पूर्व तर्फबाट १ लाइन गरी बाहिरी रूपमा चार स्थानबाट प्रवेश गरी दर्शन गर्न सकिनेछ । नित्य दर्शनार्थीहरुका लागि बिहान ७ः०० बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था कोषको व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिक, फरक शारीरिक अवस्था भएका व्यक्तिहरूका लागि छुट्टै दर्शन लाइनको व्यवस्था नमिलाएकाले स्वयंसेवकहरू र सुरक्षाकर्मीको सहयोग लिई सिधैं दर्शनको व्यवस्था मिलाइएको पनि कोषले बताएको छ ।

कहाँ गर्ने पार्किङ ?
कोषले शिवारात्रीको दिन पशुपतिमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई पार्किङको व्यवस्थापन पनि गरेको छ । उक्त दिन कोषले तिलगङ्गा कोरिडोर, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त/ट्राफिक प्रहरी प्रभाग, गौशाला, सिफल चौर, गुहेश्वरी पारी पटिको भाग गरी पाँच स्थानमा पार्किङ्गको व्यवस्था मिलाइएको छ । एयरपोर्ट, गौशाला, चाबहिल रिङ्गरोड रुटमा दर्शनार्थीहरुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषका अनुसार सो दिन सडक छेउका फुटपाथमा कुनै पनि पसलहरू राख्ने अनुमति दिइने छैन । मेला क्षेत्रमा कुनै पनि संघ संस्थाहरुको पर्चा पम्प्लेट वितरण गर्न नपाइने पनि कोषले जानकारी दिएको छ । महाशिवरात्रि पर्व सम्पन्न भएपछि गुठी संस्थानले बिदाइको कार्यक्रम गर्दा कोषको तर्फबाट समेत रुद्राक्ष माला र दक्षिणाको व्यवस्था सहित साधुसन्त, माई–बाबाहरूलाई बिदाइ गरिने बताइएको छ ।

Logo