महाशिवरात्रिको दिन आठ लाखले गरे पशुपतिनाथको दर्शन

महाशिवरात्रिको दिन आठ लाखले गरे पशुपतिनाथको दर्शन

केन्द्रबिन्दु
140
Shares

काठमाडाैँ। महाशिवरात्रिको दिन शुक्रबार सबेरैदेखि रातिसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान दुई बजेदेखि पशुपतिनाथको दर्शन गर्न लाइन लागेका दर्शनार्थीले मन्दिरका चारवटै ढोकाबाट दर्शन गरेका हुन् ।

चारवटै ढोका खोलिएकाले दर्शनार्थीले लामो समय लाइन बस्नु नपरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यस अवधिमा नेपाल, भारत, मलेसिया, बंगलादेश, भुटान, जर्मनी, बेलायत, अमेरिकालगायत देशका भक्तजनले पशुपतिनाथ दर्शन गरेका छन्। यसमध्ये अधिकांश नेपाली र भारतीय भक्तजन पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेको कोषका सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए ।

‘बिहान दुई बजेदेखि दिनभर तथा अहोरात्र दर्शन गर्ने व्यवस्था गरिएको थियो, यस अवधिमा करिब आठ लाखले मन्दिर दर्शन गरे, शिवरात्रिमा कुनै पनि नकारात्मक गतिविधि भएन,’ उनले भने, ‘शनिबार बिहान ६ बजेसम्म भक्तजनले दर्शन गर्नेछन् ।’ शनिबार बिहान ६ बजे प्रहर पूजा गरेपछि मात्रै शिवरात्रि विशेष दर्शन सकिनेछ ।

कोषले यसपटक फूल र बत्तीको सजावटका लागि एक करोड बजेट विनियोजन गरेको थियो। मन्दिरआसपास र गेटमा सजावट गर्न कोषले ३० लाखको फूल प्रयोग गरेको छ । यस्तै, १० लाख हाराहारीको बत्ती प्रयोग भएको छ। बिहानैदेखि भक्तजनको भिडभाड हुने भएकाले ठाउँ–ठाउँमा चहकिला लाइट जडान गरिएको थियो ।

शिवरात्रि व्यवस्थित बनाउन कोषका सदस्यसचिवको संयोजकत्वमा सुरक्षा व्यवस्था उपसमिति गठन गरिएको थियो । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी र सेनाले शान्ति–सुरक्षाको व्यवस्था मिलाएका थिए ।

Logo