देशभरका २९३ नगरपालिकामध्ये गोदावरी उत्कृष्ट

देशभरका २९३ नगरपालिकामध्ये गोदावरी उत्कृष्ट

केन्द्रबिन्दु
28
Shares

काठमाडाैँ। नेपाल नगरपालिका संघले सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै गोदावरी नगरपालिका पुरस्कृत भएको छ।

संघले आफ्नो ३१ औँ स्थापना दिवसको अवसरमा गोदावरी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरेको हो। संघले अन्य ४ विधामा विभिन्न नगरपालिकालाई पनि पुरस्कृत गरेको छ।

संघीय मामिला मन्त्री भानुभक्त जोशीले गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे। आर्थिक वर्ष २०७९/०८० मा गोदावरी नगरपालिकामा भएको कामको मूल्याङकन गरी सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनको क्षेत्रमा नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो।

२०७३ सालमा स्थापना भएको गोदावरी नगरपालिकाले गरेको कामको मुल्यांकन संविधानविद् काशीराज दाहालको संयोजकत्वमा गठित समितिले गरेको थियो। गत आइतबार गोदावरी नगरपालिकाले आफ्नो आठौँ स्थापना दिवस मनाएको थियो।

स्थापनाको छोटो अवधिमा नै गोदावरी नगरपालिकाले पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य काम गरेको छ। यसैगरी नगरपालिकाले स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखरे काम गरेको छ।

नगरपालिकाले आफ्नै स्रोतबाट कलात्मक ढंगबाट प्रशासनिक भवन निर्माण गर्नुका साथै इन्जिनियरिङ क्याम्पसको भवन निर्माण कार्य अन्तिम चरण पुगेको छ। यसैगरी सडक पूर्वाधार निर्माणपनि पालिकाको स्रोतसाधनले भ्याएसम्म उल्लेख्य काम गरेको छ।

नगरपालिकाभित्र राम्रो काम गर्न सहयोग गर्ने, हौसला दिने नगरभित्रका सम्पूणर् नगरवासी, जनप्रतिनिधि र कर्मचारी लगायत सम्पूणर्को महत्वपूणर् भूमिका रहेको भन्दै नगर प्रमुख गजेन्द्र महर्जनले सबैमा धन्यवादज्ञापन गर्दै कृतज्ञता व्यक्त गरे।

नगरपालिकाले कला संस्कृति र पर्यापर्यटनमा पनि उल्लेख्य काम गरिरहेको बताउँदै गोदावरीलाई समुन्नत नगर बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी यस विधामा सुदूरपश्चिमको भीमदत्त नगरपालिका पनि सम्मानित भएको थियो। संस्थागत सुधार वित्तिय सुशासन कायम गर्ने नगरपालिकामा दाङको घोराही उपमहानगरपालिका सम्मानित भएको छ।

स्थानीय आर्थिक विकासमा फड्को मारेकोमा रुपन्देहीको वुटवल नगरपालिका सम्मानित भएको छ। त्यसैगरी सामाजिक विकासको क्षेत्रको उत्कृष्ट कार्य गरेकोमा रौतहटको गौर नगरपालिकालाई सम्मानित गरिएको थियो।

वन वातावरण जलवायु परिवर्तन र विपद् व्यवस्थापन न्यूनीकरण विधामा उत्कृष्ट काम गरेका चितवनको रक्तनगर नगरपालिका र रुकुमको चौरजहाही नगरपालिका सम्मानित भएका छन्।

Logo