बेनी-मालढुङ्गा खण्ड निर्माणले १५ महिनापछि लियो गति

बेनी-मालढुङ्गा खण्ड निर्माणले १५ महिनापछि लियो गति

केन्द्रबिन्दु
42
Shares

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ ।

गण्डकी प्रदेशको लाइफलाइन (भाग्यरेखा) मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले पछिल्लो समय गति लिएको हो ।

चालु आर्थिक वर्ष भित्रनै ५ किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप ५ किलोमिटरमा ग्राभेल गरि आगामी २०८१ असोज महिनासम्म पुरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तिब्रता दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

नदीजन्य निर्माण सामग्रीको अभावको कारणले २०७९ कात्तिक देखि करिब १५ महिना सडक निर्माण सुस्ताएको थियो । निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य निर्माण सामग्रीको व्यवस्थापन गर्न सहजिकरण भएपछि पछिल्लो समय निर्माण कार्यले तिब्रता पाएको छ ।

१३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०८० असोज महिनामा म्याद सकिएको यो सडक योजनाको हालसम्मको भौतिक प्रगति ५५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोज महिनासम्मका लागि ठेक्काको म्याद थपिएको छ ।

सडक निर्माणमा ढिलाई हुँदा यातायातका साधन सञ्चालन र यात्रुहरुलाई आवतजावतमा समस्या भएको छ । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् ।

Logo