मार्फाखोलाको बेमौसमी बाढीले बेनी-जोमसोम सडकमा यातायात प्रभावित

मार्फाखोलाको बेमौसमी बाढीले बेनी-जोमसोम सडकमा यातायात प्रभावित

केन्द्रबिन्दु
84
Shares

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा रहेको मार्फाखोलामा बेमौसमी बाढी आउन थालेपछि बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित हुन थालेको छ ।

पछिल्लो एक हप्तायता साँझपख खोलामा पानी र बाढीको सतह बढेर आउन थालेको छ । मोटरेबल पुल निर्माणमा ढिलासुस्ति भएको र बाढी आउन थालेपछि जोखिम बढेको हो । मार्फाखोलाको बाढीले बेनी–जोमसोम सडकमा यात्रा गर्ने स्थानीयबासी, पर्यटक र तिर्थयात्रीलाई सास्ती भएको छ ।

खोलामा बाढी आउँदा सवारी साधन वारपार गर्न नसक्ने, खोला तार्ने क्रममा फसिने, इञ्जिन बिग्रने, बाढीले मोटरसाइकल, स्कुटरलाई बगाएर दुर्घटना हुने जोखिम बढेको छ । धौलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा ठाडो खहरेखोलामा बाढी आएको हो ।

ठाडो खहरे खोलामा कालो लेदो माटोसहितको बाढी आएपछि सवारी साधन वारपार गर्न सक्दैनन् । छायावृष्टि हुने सुक्खा बलौटे भूगोल भएको मुस्ताङमा पछिल्ला वर्ष बाढीपहिरोले दुःख दिन थालेको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनालेले बाढी आउँदा सवारी साधन वारपार गर्नका लागि अस्थायी पुल बनाउने तयारी गरेको जनाएको छ । आयोजना मार्फत मार्फाखोलामा १२० मिटर लामो पुल बनाउन ५ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले रु. २१ करोड ६० लामा ठेक्का सम्झौता गरेको थियो ।

पुलका ३ वटा मध्य २ वटा स्पाम ढलान भएको छ । बिचको स्पाम ढलान गर्न र पहुँचमार्ग बनाउने काम बाँकी छ । निर्माण व्यवसायीलाई पुल निर्माणलाई गति दिन ताकेता गरिएको आयोजनाले जनाएको छ ।

Logo