उपत्यकाबाट बर्सेनि बढ्यो मोटरसाइकल चोरी

उपत्यकाबाट बर्सेनि बढ्यो मोटरसाइकल चोरी

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरी तैनाथी र निगरानी देशका अरु ठाउँभन्दा धेरै छ । तर, यहीँ मोटरसाइकल चोरीको बर्सेनि बढेको संख्याले भने प्रहरीलाई चुनौती दिइरहेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा काठमाडौं उपत्यकाबाट १ हजार ८ सय ४७ वटा मोटरसाइकल चोरी भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा १ हजार ८ सय ५० र २०७८/७९ मा १ हजार ६ सय ४ वटा मोटरसाइकल चोरी भएका थिए । उपत्यकामा विभिन्न पेसाव्यवसायमा रहेकाहरुका लागि दैनिकी चलाउन अत्यावश्यक साधन बनेको मोटरसाइकल चोरी बढिरहँदा प्रहरीमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ ।

चोरिएका मोटरसाइकल खोजीमा प्रहरीले ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरेको छ । तर, चोरी भएको संख्यामा आधा पनि फेला परेको तथ्यांक छैन । के हुन्छ चोरिएका मोटरसाइकल ? प्रहरी भन्छ – चोरीका मोटरसाइकलको पाटपुर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने गरेको अनुसन्धानबाट पत्ता लाग्ने गरेको छ ।

प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन् ‘चोरी हुनबाट बच्न ह्वीललक, डिस्कलक, ब्रेकलक, फ्युललक लगाउनु राम्रो हुन्छ । सम्भव भएसम्म जीपीएस ट्रयाकर लगायतका उपकरणको जडान गरी मोटरसाइकल चोरी हुनबाट सुरक्षित रहन सकिन्छ ।’

मुलुकमै सर्वाधिक संख्यामा मोटरसाइकल प्रयोगकर्ता उपत्यकामा छन् । संख्या बढेसँगै चोरी पनि बढेको छ । सूचना आएसम्म अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–३२ जडिबुटीबाट ओखलढुंगाका संजोक तोलांगीको मोटरसाइकल चोरी भएको थियो । उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । काठमाडौं पेप्सीकोलामा फेला परेको मोटरसाइकल उनलाई प्रहरीले बुझाएको छ । त्यस्तै ललितपुर सातदोबाटोबाट मिनु घोषको मोटरसाइकल पनि चोरी भएको थियो । ललितपुर चापागाउँमा फेला परेको उनको मोटरसाइकल फिर्ता दिइएको प्रहरीले जनाएको छ ।

चोरी रोकथाम गर्ने काम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले गरिरहेको छ । पछिल्लो समय चैत १३ गते मात्र उक्त कार्यालयले फेला पारेका २० वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी ढकाल भन्छन् ‘चोरी भएका मोटरसाइकल खोजी तथा अनुसन्धान गर्न देशभरका प्रहरीलाई सक्रिय पारिएको छ । विशेष योजना र कार्यक्रमहरू तयार गरी सूक्ष्म तरिकाले निग्रानी, प्रत्यक्ष अनुगमन र अनुसन्धान गर्ने गरिएकोले चोरी भएका मोटरसाइकल पत्ता लगाई सम्बन्धित धनीलाई बुझाउन सफलता मिलेको छ ।’

चालु आर्थिक वर्षको हालसम्म काठमाडौं उपत्यकाबाट चोरी भएका १ हजार ८ सय ४७ वटा मोटरसाइकलमध्ये ३ सय ७४ वटा फेला परेका छन् । फेला परेकामध्ये २ सय ९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ भने २४ वटा आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ । बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा छन् । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा चोरी भएका १ हजार ८ सय ५० वटा मोटरसाइकलमध्ये ५ सय ५१ वटा प्रहरीले फेला पारेको थियो । त्यसमा ४ सय ९९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८÷७९ मा १ हजार ६ सय ४ वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ५ सय ६ वटा मोटरसाइकल प्रहरीले फेला पारेर ४ सय ३४ वटा सम्बन्धित सवारीधनीलाई बुझाएको थियो । उक्त अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो ।

धेरैजसो साँझ र रातको समयमा मोटरसाइकल चोरी हुने गरेको निवेदन आउने गरेको प्रहरीले जनाएको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ भन्छन् ‘चोरी भएका सवारीसाधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको छ ।

युनिटले तत्कालै परिचालित भई के–कस्तो सवारीसाधन कहाँबाट चोरी भयो, विगतमा कस्तो प्रकारको चोरी भएको थियो जानकारी लिई अनुसन्धान सुरू गर्छ । छिमेकी जिल्लासँग समन्वय गर्ने तथा नाकाका युनिटहरूको साथै हरेक नियमित चेकजाँचमा शंकास्पद मोटरसाइकल र मानिसलाई चेकजाँच गर्ने गरिएको छ ।’ यसप्रकार खोजतलासका क्रममा फेला परेका सवारीसाधन र पक्राउ परेका मानिसलाई कानुन बमोजिम कारबाही हुने उनले बताए ।

Logo