डलर र सुन साट्ने भन्दै ठगी गर्ने काभ्रेका २ जना पक्राउ

डलर र सुन साट्ने भन्दै ठगी गर्ने काभ्रेका २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

वैदेशिक रोजगारीबाट फर्किएकासँग डलर र सुन साट्ने भन्दै नक्कली नोट दिएर ठग्ने तथा लुटपाट गर्ने गिरोह काठमाडौं लगायत आसपासका क्षेत्रमा सक्रिय छन् ।

उनीहरू काठमाडौंको नयाँ बसपार्क, बौद्धलगायत क्षेत्रमा यसरी ठगी कार्यमा सक्रिय रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले डलर र सुन साट्ने भनेर कसैले प्रलोभन दिएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले विगतदेखि नै यस्ता व्यक्तिहरू सक्रिय रहेकाले निगरानी बढाएर धेरैलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

आइतबार मात्रै पनि परिसरले यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको साँगाबाट डलर र सुन साट्ने भनी लुटपाट गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ घर भई काभ्रे पाँचखाल बस्ने जीतबहादुर तामाङ र धुलिखेल बस्ने रामबहादुर तामाङलाई पक्राउ गरेको परिसरले जनाएको छ ।

यसअघि नयाँ बसपार्कबाट यसैगरी ठगी गर्दै आएका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको थियो । जीतबहादुर र रामबहादुरले नयाँ बसपार्क र बौद्ध क्षेत्रलाई मुख्य आधार बनाई विदेशबाट फर्किएका व्यक्तिहरूलाई डलर र सुन साट्ने लगायत अन्य विदेशी रकम बढीमा साट्ने भन्दै ठगी गर्ने गरेको खुल्न आएको छ ।

उनीहरूले पैसाको बण्डलको अगाडि र पछाडि सक्कली नोट राखी भित्र कागज राखेर ठग्ने गरेको परिसरको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
रासस

Logo