सुनापति गाउँपालिका ‘थाङ्कु-थाङ्का हब’ घोषणा

सुनापति गाउँपालिका ‘थाङ्कु-थाङ्का हब’ घोषणा

केन्द्रबिन्दु
98
Shares

रामेछाप। मौलिकता जर्गेना गर्ने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ रामेछापको सुनापति गाउँपालिकालाई थाङ्कु-थाङ्का हब घोषणा गरिएको छ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा सुनापति गाउँपालिका र सुनापति प्रज्ञा-प्रतिष्ठानको आयोजनामा सोमबार गाउँपालिकालाई ‘सुनापति थाङकु-थाङ्का कला हब’ घोषणा गरिएको हो।

वडा नं ४ मा आयोजित एक औपचारिक कार्यक्रममार्फत बागमती प्रदेशका प्रदेशसभा सदस्य युवराज चौलागाईंले घोषणा गरे। घोषणासँगै सुनापतिमा तीन महिने थाङ्का कला प्रशिक्षण समेत सुरुवात भएको छ।

प्रदेशसभा सदस्य चौलागाईंले थाङ्का हब घोषणालाई लिएर पालिकाका सबै जनताले गौरव गर्नुपर्ने धारणा राखे। उनले मौलिक कलालाई जर्गेना गर्दै रोजगारीसँग जोड्नु सराहनीय कार्य भएको सुनाए।

‘गाउँपालिकाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न यो एउटा उत्कृष्ट कार्यक्रमको सुरुवात भएको छ। यसलाई बचाउन र विकास गर्न जरुरी छ। मैले यसलाई पहिलो पाइलाको रूपमा लिएको छु,’ उनले भने। प्रदेश सांसद चौलागाईंले थाङ्का कला पहिचान र अर्थतन्त्रसँग जोडिएको बताउँदै यसले अर्थतन्त्रमा विशिष्ट योगदान दिने बताए। उनले यस्ता कला र सम्पदा केन्द्रित कार्यक्रम अन्य पालिकाले पनि ल्याउने विश्वास व्यक्त गरे।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले पालिकालाई थाङ्का हब घोषणा गर्नुको मुख्य उद्देश्य अग्रज कलाकारलाई सम्मान गर्दै उनीहरूको ज्ञान नयाँ पुस्तामा लैजानु पनि भएको बताए।

उनले प्रतिष्ठानले मौलिकता जोगाउने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने उद्देश्य राखेर हबको अवधारणा अघि सारेको जानकारी दिए। उनले भने, ‘यसले पर्यटनसँगै देशको अर्थतन्त्रलाई समेत योगदान दिनेछ।’

Logo