सुदूरपश्चिममा आज सिस्नु खेलेर ‘बिसु’ पर्व मनाइँदै

सुदूरपश्चिममा आज सिस्नु खेलेर ‘बिसु’ पर्व मनाइँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धूमधामका साथ मनाइँदैछ। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धूमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ। हरेक वर्ष बिसुमा मीठा-मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ ।

यसका साथै देवर भाउजू, नन्द भाउजू र साली भिनाजुले एकापसमा सिस्नु पानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ। शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताए । र पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ।

यो दिन हरेक मानिसले शरीरमा रोग नलागोस् र विषाक्त पदार्थ हटेर जाओस् भन्नका निमित्त सिस्नो लगाउने गरिन्छ । आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्त्वका रूपमा लिने गरिन्छ । यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्ति पीठहरूमा पनि विशेष पूजा तथा मेलासमेत लाग्ने गर्दछ । यस दिनमा इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्की आदि विभिन्न परिकार पकाएर बिसु मनाउने गर्दछन् ।

Logo