नेपालमा पहिलो पटक ‘वास मेला’, थरी थरीका स्टल

नेपालमा पहिलो पटक ‘वास मेला’, थरी थरीका स्टल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको वास मेला सम्पन्न भएको छ । नेपाल नगरपालिका संघले आयोजना गरेको वास मेलामा सरसफाईसम्बन्धी जनचेतना जगाउने उद्देश्य राखिएको थियो । काठमाडौंको बसन्तपुरमा दुई दिनसम्म चलेको मेलामा देशभरका विभिन्न पाँच वटा नगरपालिकासहित खानेपानी, सरसफाइ र स्वच्छतासँग सम्बन्धित २४ वटा स्टल राखिएको थियो ।

शहरी क्षेत्रको खानेपानी तथा सरसफाईमा भइरहेको गतिबिधि, उपलब्धी, यससँग सम्बन्धित कानुन, तथा बिभिन्न प्रबिधिका बारेमा जानकारी दिन मेला आयोजना गरिएको नेपाल नगरपालिका संघले जनाएको छ । खानेपानी सरसफाई क्षेत्रमा काम गर्ने सरकारी तथा बिभिन्न गैर सरकारी निकाय, बिज्ञ सबै सरोकारवाला निकाय एकै स्थानमा भेला भएर यससँग सम्बन्धित बिभिन्न गतिबिधिका बारेमा जानकारी दिनका लागि बिभिन्न स्टल राखिएको थियो ।

मेलामा खानेपानी सरसफाईसँग सम्बन्धित प्रर्दशनी संगै ४ सत्रमा बिभिन्न बिषयमा छलफल तथा बहस समेत भएको थियो । शनिवारदेखि सुरु भएको वास मेलाको उद्घाटन खानेपानी मन्त्री विना मगरले गरेकी थिईन् । शनिवार कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्ट, विभिन्न नगरपालिकाका प्रमुखहरु, सरकारी अधिकारी लगायतले अवलोकन गरेका थिए ।

मेलामा घरबाट निस्किएको फोहोर व्यवस्थापनका लागि आएका नया प्रबिधि, घर घरमा शुद्ध पानी पुर्‍याउनका लागि उपलब्ध शुद्धिकरण गर्ने नयाँ प्रबिधि र सामग्रीको बारेमा जानकारी गराईएको थियो । मेलामा राखिएका स्टलहरुमा खानेपानी शुद्धिकरण गर्ने फिल्टर देखि महिनावारी हुँदा लगाउने प्याडहरु समेत राखिएको थियो ।

जैविक एवं घरेलु स्यानिटरी प्याडका बारेमा जानकारीसंगै बनाउने तरिका समेत प्रदर्शनीमा राखिएको थियो । यस्तै खानेपानी शुद्धिकरणका लागि क्लोरिनेशन विधि, आकाशे पानी संकलन एवं फिल्ट्रेशन विधि, खानेपानी र सरसफाइको सम्बधि नयाँ प्रविधिहरु समेत स्टलमा राखिएको छ।

 

Logo