इटहरीका मेयर र पत्रकारको विवादको चुरो: ‘३ बिघा जग्गा’

इटहरीका मेयर र पत्रकारको विवादको चुरो: ‘३ बिघा जग्गा’

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी ।

काठमाडौं । ‘तिमीले केके लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याएको छु । एउटा घडेरी छुट्याएको छु । तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ । अब म गुण्डागर्दीमै उत्रिएँ । तेरो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ ।’ यो इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीले पत्रकार विराट अनुपमलाई दिएको धम्की हो ।

केही दिनअिघ पत्रकार अनुपमले राष्ट्रिय खेलाडी रेखा पौडेलसँगको भेटघाटको तस्बिर फेसबुकमा पोष्ट गरेका थिए । त्यसमा मेयर चौधरीले कमेन्ट गरे, ‘चाटुकार पत्रकार’ । अनुपमले तुरुन्तै मेयर चौधरीलाई फोन गर्दै त्यस्तो कमेन्ट लेख्नुको कारण सोधे । जवाफमा मेयरबाट ‘तेरो नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने धम्की पाए । सामान्य कुरामा पत्रकारमाथि नै यसरी किन खनिए त ? त्यो घटना बुझ्न दुई वर्ष अघि फकिनुपर्ने हुन्छ ।

घटना हो २०७४ साउन १७ गतेको । पत्रकार अनुपमले इटहरीकै एक अनलाइन न्यूजलयमा ‘द्वारिक चौधरीलाई फ्लप पार्न सक्ने पाँच फ्याक्टर’ विषयमा समाचार लेखेका थिए । जसमा उनले पाँच वटा विषयहरु उठान गरे । पत्रकार अनुपमले लेखेको यो समाचार नेगेटिभ खालको पनि थिएन । अझ पत्रकारले मेयर चौधरीलाई इटहरीकै पपुलर पर्सनको सूचीमा राखेका थिए । त्यो सँग–सँगै उनले पाँच वटा विषयमा मेयरलाई सुझाव पनि दिएका थिए । तर, ति सुझाव मेयर चौधरीलाई पचेन ।

उनले सुझाएको पाँच फ्याक्टरमा भूमाफियाको भूमरी, एमाले भँजाउने कर्मचारीतन्त्र, पावर ब्रोकरहरुको ललिपप, सुकुम्बासी समुदायका हुकुम्बासीहरु तथा व्यक्तिगत क्यारेक्टर र थारु फ्याक्टर समावेश थियो । तर, मेयर चौधरीलाई यो समाचार नै मन परेन् । र, उनले पत्रकार अनुपममाथि निगरानी गर्न थाले ।

मेयर चौधरी २०४९ र २०५४ सालमा लगातार दुई पटक इटहरीमै गाभिएको साविकको हाँसपोसा गाविसका चर्चित अध्यक्ष थिए । उनी आफुले गरेको काम मात्र राम्रो तर अरुले गरेको कामको सकारात्मक मुल्यांकन गरेको रुचाउदैंन थिए । हुन त उनी एकदम राम्रो काम गरेर चर्चाको शिखरमा पुगेका हुन् । तर पनि उनलाई सहि लागेको विषय मात्र सहि र अरुले गरेको विषय गलत हुनुपर्छ भन्ने उनको मान्यता देखिन्छ । जसकारण उनी यसअघि पनि बेला–बेला आलोचनाको पात्र बन्दै आएका थिए ।

त्यसपछि बने झनै उग्र…
मेयर चौधरीले मेयरले सब–ओभरसियर राम खड्कामाथि घुस खाएको अभियोग लगाउँदै दुव्र्यवहार गरेका थिए । त्यस्तै, कार्यालयको सिसी क्यामेरा अफ गरेर वडासचिव मनोज दाहाललाई पनि कुटपिट गरेका थिए । उनीहरुमाथि कुटपिट गरिएको विषयमा पत्रकारले प्रश्न उठाए । प्रश्न उठाउने स्थानीय पत्रकारहरु कृष्णवहाव भट्टराई र विकल रेग्मीमाथि दुव्र्यवहार गरे ।

त्यतिमात्र होईन् पत्रकार भट्टराईलाई लोपारेका थिए भने रेग्मीलाई यी यसरी कठालो समाएँ भन्दै उदाहरण दिने क्रममा कठालो समातेका थिए । यही घटनाबारे पत्रकार र मेयरबीचको विवादले उग्र रुप लियो । पत्रकारहरु उनीमाथि कडा रुपमा प्रस्तुत भए भने मेयर चौधरी झन उग्र बन्दै ‘नाकको हड्डी भाँच्न एक करोड नै छुट्याएको छुँ’ भन्दै धम्की दिन थाले ।

मेयर र पत्रकारबीचको मुख्य निहु:
पत्रकार अनुपममाथि मेयर खनिनुको अर्कै कारण खुल्न आएको छ । मेयर चौधरीले पत्रकारमाथि सार्वजनिक जग्गाको खोजी गर्दा माफियासँग मिलेर थर्काएको आरोप लगाएका छन् । पत्रकारहरुले नै पनि भ्रष्ट कर्मचारीले झै प्रश्न गर्ने गरेको बताउँदै चाटुकार भनेर आरोप लाएको बताए । उनले पीत पत्रकारिता गर्ने, फोन गरेर धम्क्याउने पत्रकारहरुलाई केही दिनमै कारवाही चलाउने चेतावनी दिए ।

दयानन्द वैदिक मिसन (डिभिएम) ग्लोबल स्कुलको सार्वजनिक जग्गाका विषयमा पत्रकारहरुले माफियासँग मिलेर आफुलाई धम्क्याएको मेयर चौधरीको आरोप छ । उक्त जग्गामा उपमहानगरले तारजाली लगाएको थियो । त्यो तारजाली रातमा भत्काईयो । त्यसपछि मेयर चौधरी झन आक्रोशित बने ।

डिभीएमले ३ बिघा हाराहारी सरकारी जग्गा मिचेर निजी प्रयोजनमा प्रयोग गरेको उपमहानगरको आरोप थियो । ६ कठ्ठा निजी जमिन किनेर बाँकी सार्वजनिक जमिन हडपिएको भन्दै उपमहानगरले तारबार लगाएको थियो । त्यही जग्गाको विषयमा पत्रकार अनुपमले माफियासँग मिलेर धम्क्याएको मेयर चौधरीको आरोप हो ।

माफियाले उक्त जग्गा हत्याउन पत्रकारको प्रयोग गरेको मेयर चौधरीको निष्कर्षमा यस्तो घटना घट्न पुगेको हो । तर पत्रकार अनुपमले भने सार्वजनिक जग्गाको खोजी गर्दा पत्रकारले माफियासँग मिलेकोले ‘थर्काएको’ भन्ने कुरा नियोजित रुपैया फैलाईएको बताए । गलतलाई गलत र सहिलाई सहि भन्न खोज्दा मेयर चौधरी आफुमाथि खनिएको उनको भनाई छ । उनको विगतदेखिकै स्वभाव यस्तै रहेको भन्दै पत्रकार अनुपमले भने, ‘हामीमाथि मात्र होईन उनको विरुद्ध कोही बोल्यो भने त्यसलाई दुस्मननै सम्झने मेयर सापको बानी छ । जुन उहाँकै लागि घातक हो ।’

माफी माग्ने त कुरै भएन्, कालोमोसो दल्छुः मेयर चौधरी
उक्त प्रकरणपछि मेयरले सार्वजनिक माफी माग्नुपर्ने आवाज उठिरहेका बेला उनी भने झनै उग्र बनेका छन् । उनले मंगलवार साझ न्यूज २४ को सिधाकुरा जनतासँग कार्यक्रममा बोल्दै पत्रकारहरु विभिन्न पार्टी र व्यापारिक स्वार्थबाट प्रेरित रहेको र कोही तस्करीसँग मिल्ने गरेको आरोप लगाए ।

मेयर चौधरी भन्छन्, ‘त्यस्तालाई कसरी ठिक ठाउँमा ल्याउने मैले जानेको छुँ । लातो के भूत बातो से नही मान्ती’ तेसलाई मैले चाटुकार र पत्रुकार भनेको हुँ । यस्ता कुरा सिकाउनु पर्दैन ।’ लेलिन र माओत्सेले चलाएको शासन व्यवस्थाको उदाहरण दिँदै उनले अनुपमको डेढ बर्षदेखि फेसबुक स्टाटस चेक गर्न आग्रह गरे ।

पत्रकारलाई कालोमोसो दलेर घुमाउँने भन्दै उनले भने, ‘कानुन कस्को हुन्छ ? जहाँ लाल सत्ता हुन्छ । माओत्सेतुुङको पालामा निर्वाचित प्रधानमन्त्रीलाई माओत्सेतुङले चुच्चे टोपी लगाइदिएका थिए । जनप्रतिनिधिलई चै गाली बेइज्जती गर्न मिल्ने कुन पत्रकारलाई छुट छ ? कुन कानुनमा छ ? मलाई भ्रष्ट र नालायकको रुपमा प्रस्तुत गरेको छ । कुनै अदालतले, राज्यले क्षतिपूर्ति दिनसक्छ ?’

मेयर सा’पको प्रेसर २४० भन्दा माथिः उपमेयर गौतम
आक्रोशित भएर अभिव्यक्ति दिँदै आएका मेयर चौधरीबारे उपमेयर लक्ष्मी गौतमसँग कुरा गर्दा उनले मेयरको पछिल्लो गतिविधि देख्दा अचम्ममा परेको बताईन् ।

यो घटनाबारे आफुले बुझ्न नसकेको भन्दै उनले टेलिफोनमा भनिन्, ‘यो घटनाबारे मैले केहि बुझन् सकेकी छैन् । नगरपालिकासँग जोडिनुपर्ने पत्रकार साथीहरुसँग त्यस्तो खालको व्यवहार हुनुपर्ने विषय त मैले केही देखेकी छैन् । जे भईरहेको छ, त्यो राम्रो भईरहेको छैन् । म आफैं छक्क परिरहेकी छुँ । अहिले मेयर साप नेपालगञ्ज हुँदा मैले थप कुराकानी गर्न पाएकी छैन् ।’

मेयर चौधरी एकदमै कम बोल्ने, सिधा र सभ्य मानिस भएको भन्दै उनले भनिन्, ‘उहाँ एकदमै कम बोल्ने, नर्मल मान्छे, हुनुहुन्थ्यो । आजभोलि किन त्यस्तो हुनुभयो मैले बुझ्न सकेकी छैन् । प्रेसर उहाँको अत्यधिक बढेको छ । मेरो त २४० बाट माथि गयो भन्दै हुनुहुन्थ्यो । अब नेपालगञ्जबाट फर्किएपछि बसेर छलफल गर्छौ ।’

सम्बन्धित थप समाचार

इटहरीका मेयरलाई मुख्यमन्त्री र योगेश भट्टराईको सुझाव- ‘आत्मालोचना गर्नुहोस्’

इटहरीका मेयरले मानसिक सन्तुलन गुमायो, बर्खास्त गर- परशुराम बस्नेत

मेयरले छुट्याए ‘पत्रकारको नाक हड्डी भाँच्न’ एक करोड बजेट

मेयर गल्ती गर्ने उपमेयर माफी माग्ने

Logo