मेयरले छुट्याए ‘पत्रकारको नाक हड्डी भाँच्न’ एक करोड बजेट

मेयरले छुट्याए ‘पत्रकारको नाक हड्डी भाँच्न’ एक करोड बजेट

केन्द्रबिन्दु
0
Shares

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारको नाकको हड्डी भाँच्न एक करोड बजेट छुट्याएको बताएका छन् । इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी मेयर चौधरीले नाकको हड्डी भाँच्न एक करोड छुट्याएर राखेको बताएका हुन् ।

पत्रकार अनुपमसँग अपशब्द बोल्दै ‘अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ । त्यसको लागि मैले एक करोड छुट्याएको छु । एक घडेरी राखेको छुँ’ भन्दै धम्क्याएका हुन्।

आफ्नो फेसबुक पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले धम्की दिँदै भने, ‘तिमीले केके लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु। एउटा घडेरी छुट्याएको छु । तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ । अब म गुण्डागर्दीमै उत्रिएँ। तेरो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ।’

उनले अनुपमकै स्टाटसमाथि कमेन्ट लेख्दै ‘अब तिम्रो पालो’ लेखेका थिए । यसअघि कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएपछि उनी काठमाडौं पुगेका थिए। लामो समय काठमाडौमै बसेका उनले यसअघि पनि फेसबुकमा अभद्र कमेन्ट गर्दै आइरहेका छन्।

गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई कुटेका थिए । उक्त घटनापछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलनकै घोषणा गरेका थिए ।

चौधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरू कृष्णबहाव भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै उनले हप्काएका थिए। सो क्रममा उनले पत्रकार रेग्मीलाई लोपार्दै अभद्र व्यवहार गरेका थिए।

जेठ १० गते उपमहानगरपालिकाको तर्फबाट उपमेयर लक्ष्मी गौतमले माफी मागेकी थिईन् । माफी मागेको केही समयपछि मेयर चौधरी फेरि पत्रकारविरुद्ध उत्रिएका हुन् ।

मेयर गल्ती गर्ने उपमेयर माफी माग्ने

Logo