पहिराको त्रासले भिमादका ६० घर विस्थापित

पहिराको त्रासले भिमादका ६० घर विस्थापित

केन्द्रबिन्दु
70
Shares

तनहुँ । “पहिराले शौचालय र करेसाबारी मात्रै हैन घर पनि बगाउनै आँटेको छ”, भिमाद–६ भिमाद बजारका हरिप्रसाद पौडेलले दुखेसो गरे, “पहिरामा परिएला कि भन्ने जोखिमले गर्दा पानी पर्दा रातभरि जागा बस्नुपर्ने बाध्यता छ ।’’

उनले भिमाद बजारका करिब २० घरका बासिन्दाको घर र करेसाबारी पहिराले बगाएपछि अन्यत्र बसाइँ सर्नुपरेको र करिब ४० घरका बासिन्दा पहिराका त्रासमा रहनुपरेकोे बताए । घरतल सेती किरानामा बाढी आउँदा बलौटेमाटो रहेकाले पनि उक्त क्षेत्र पहिरामा परेको उनले बताए । पौडेलले विसं २०५६ को बाढीले अधिकांश स्थानीयको शौचालय र करेसावारी बगाएको, विसं २०५८ को पहिराले घर पछाडिको भान्छाकोठा र विसं २०७२ को भूकम्पले घर पछाडिको गाह्रो नै बगाएपछि घर नै बन्द गरेर विस्थापित हुनुपरेको पौडेलले बताए ।

अन्य मानिसले मूल ढोका लगाएर अन्यत्र गए पनि आफू भने दिनमा भाँडावर्तनको पसल सञ्चालन गर्दै आएको उनले जानकारी दिए । “पहिलोले बाँकी छाडेको यो एउटा कोठा पनि त्यसै बन्द गर्न मनले मानेन”, पौडेलले भने, “पानी पर्दा भने पहिराको त्रासले पसल नै नखोली बन्द गर्दै आएको छु ।”

उक्त क्षेत्रमा पहिराको त्रासले करिब तीन सय मिटर क्षेत्रका मानिस घरमा ढोका लगाएर अन्यत्र विस्थापित भएका छन् । स्थानीय एकबहादुर बानियाँ, सनत श्रेष्ठ, केशव भण्डारीलगायतले पहिराको त्रासले घर नै छाडेर अन्यत्र बसाइँ सरेको स्थानीय सङ्गीता भण्डारीले जानकारी दिए । घरपछाडिको भाग पहिराले बगाए पनि आफूले पानी नपर्दाको बखत होटल व्यवसाय सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

“पहिरामा परियो भने त सबै सकिइहाल्यो नि । त्यसैले पानी पर्दा पसल सञ्चालन गर्ने कुरा भएन”, भण्डारीले भने, “अन्य बेलामा पनि पहिरो जाला कि भन्ने चिन्ताले सताइरहन्छ ।”

उक्त क्षेत्रबाट करिब एक सय मिटर तल सिधा पहिरो गएकाले पनि नयाँ आउने मानिस तर्सिने गरेको भण्डारीको भनाइ छ । उक्त क्षेत्रमा पहिरो नियन्त्रणका लागि तटबन्धनको काम भइरहे पनि त्यो प्रयास भने सुस्त गतिमा भएकामा आफूहरुको गुनासो रहेको भण्डारीले बताए । “पहिराबाट यो क्षेत्रलाई बचाउने हो भने चाँडो गतिमा तटबन्धन हुनुपर्ने हो”, उनले भने, “मानिसको जीउधनको सुरक्षा गर्नेजस्तो कार्य प्राथमिकतामा नपर्नु दुःखको कुरा हो ।”

उक्त क्षेत्र पहिराको उच्च जोखिममा रहेकाले तत्काल तटबन्धन गरी नागरिकको जीउधन बचाउनेतर्फ सङ्घीय सरकार गम्भीर हुनुपर्ने भिमाद नगरपालिका–६ वडाध्यक्ष श्यामसुन्दर जोशीले बताए । केही वर्षपहिले किरण गुरुङ मन्त्री हुँदा रु १६ करोडको आयोजना विस्तृत प्रतिवेदन तयार गरी पञ्चवर्षीय योजनाअन्तर्गत कार्यक्रम विनियोजन हुने भनिए पनि सम्बोधन नभएकामा दुःख लागेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशको रु ५० लाखको तटबन्धन गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको वडाध्यक्ष जोशीले बताए । “पहिरो नियन्त्रणका लागि प्रतिवेदन अनुसारको कार्यक्रम सङ्घीय सरकारबाट नै बजेट विनियोजन हुन जरुरी छ”, उनले भने, ‘‘प्रदेश सरकारबाट रु ५० लाख भए पनि विनियोजन हुनु सकारात्मक पक्ष हो ।’’ उक्त क्षेत्रमा पहिरो नियन्त्रणका लागि आफूहरुले प्रदेश र सङ्घीय सरकारलाई पटकपटक अनुरोध गर्दै आएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताए ।

Logo