‘प्रधानमन्त्रीकै प्रेरणाले सप्तकोशीमा पानी जहाज चलायौं’

‘प्रधानमन्त्रीकै प्रेरणाले सप्तकोशीमा पानी जहाज चलायौं’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत चैत्र १६ गतेदेखि सप्तकोशीमा मोटरबोट सञ्चालनमा आएको छ । पानी जहाजकै शैलीमा नेपालमै निर्माण गरिएको मिनी पानी जहाज सप्तकोशीमा सञ्चालनमा आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि एउटा सपना थियो, हिन्द महासागरसँगै नेपालका नदीहरुमा पानी जहाज चलाउने । उहाँकै सपनालाई केहीहदसम्म भएपनि साकार पारेका छन्, राजेन्द्र कार्कीले ।

जेट बोट ८८४८ नाम दिईएको मिनी पानी जहाज सप्तकोशीमा तिनै कार्कीले सञ्चालनमा ल्याएका हुन् । यो जहाज सञ्चालन गर्ने योजना कसरी बन्यो ? कतिको लागतमा बन्यो ? सप्तकोशीमा मिनी जहाज चलाउँदा के कस्तो अनुभव भईरहेको छ ? लगायतका विविधि विषयमा हामीले सञ्चालक कार्कीसँग कुराकानी गरेका छौंः

१.जहाजको सञ्चालक हुनुहुन्छ । कहाँबाट जहाज चलाउँछु भन्ने सोच आयो ?

एकदमै महत्वपुर्ण प्रश्न सोध्नुभयो । मेरो बाल्यकाल भोजपुरमा बित्यो । मैले त्यहाँ १२/१३ बर्षको उमेर विताए । त्यतिखेर खाद्य सामग्री ल्याउन वा बजार आउन पर्‍यो भने धरान, विराटनगर, चतरा आउनुपथ्र्यो । जुन यहि कोशी नदी हुँदै जानुपथ्र्यो । सप्तकोशीको किनारै किनार । एकदमै बिकट बाटो थियो । त्यो बाटो हिडिरहँदा यहि कोशीको बाटोको प्रयोग गर्नुको कुनै विकल्प भए कति छिटो र कति सहज रुपमा यात्रा गर्ने थियौ भन्ने परिकल्पना मेरो दिमागमा आउथ्यो ।

२. भनेपनि बाल्यकालको त्यो परिकल्पना युवा अवस्थामा आएर पुरा गर्नुभयो ?

हो बाल्यकालको त्यो परिकल्पनाले युवाअवस्थामा पनि प्रेरित गरिरह्यो । संसारको विकसित मुलुकहरु जो समुन्द्रहरुसँग पहुँच राख्ने गर्छन् । तिनिहरुले ठूल्ठूला पानीजहाजहरु चलाएको देख्दा हामी पनि नेपालमा प्रयोग गर्न सक्छौ भनी अध्ययन सुरु ग¥यौं । एडमन्ड हिलारीले सगरमाथा आरोहणकै क्रममा जेटबोट सञ्चालन गरेको हामीले युट्युबमा हेर्न सक्छौ । आज भन्दा ४० औं वर्ष अघि नै कोशी नदी लगायत हाम्रो देशको ठूल्ठूला नदीहरुमा जेट बोट सञ्चालनमा ल्याएको देख्दा किन गर्न सकिदैन भन्ने सोच्यौ । अहिले प्रविधीले धेरै अघि पु¥याइसकेको छ । त्यसैले विगत १/२ बर्ष अघिदेखि हामी केही युवा मिलेर सर–सल्लाह र छलफल गर्यो । जेटबोट खरिद गर्ने प्रक्रिया गरिरहँदा २ जना ईन्जिनियर साथीहरुसँग संयोगबश भेट भयो ।

हामीले मिनीजेट नेपालमा बनाउन सकिन्छ कि सकिदैन भनेर प्रस्ताव गर्यो । उहाँहरुले आर्थिक रुपमा सहयोग गर्नुहुन्छ भने बनाउन सक्छौ भन्नुभयो । त्यसपछि उहाँहरुको प्राविधिक क्षमताको सदुपयोग हामीले आर्थिक रुपले गर्दै गयौं । गत बैशाख २२ गतेदेखि कम्पनी दर्ता गरेर करिव नौ महिनाको मिहेनतमा हामीले पूर्ण रुपमा जहाज सञ्चालनमा ल्याउन सक्ने भयौं । उहाँहरुको लगनशिलता र मेहनतकै कारण चैत्र १६ गते यहि सप्तकोशी नदीमा परिक्षण गर्यौ । सफल परिक्षणपछि हामीले व्यवसायिक रुपमा सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोटेसन प्रालीको नाममा नेपालमै उत्पादन भएको नेपालमै निर्माण भएको माउन्ट ८८४८ नामको मिनी पानीजहाज चतराबाट भोजपुरको सिम्लेसम्म नियमित सञ्चालन गरिरहेका छौ ।

३.टिममा को–को हुनुहुन्छ ?

२ जना ईन्जिनियर हुनुहुन्छ । ३० बर्षमुनीका । एकजना सुमन खत्री काठमाडौं युनिभर्सटीबाट मेकानिकलमा ईन्जिनियर गर्नुभएको र अर्को हुनुहुन्छ लेखराज रिजाल । उहाँ पनि इन्जिनियर नै हुनुहुन्छ । लगानीकर्ता हामी जम्मा ६ जना छौ ।

४. प्रधानमन्त्रीले पनि जहाज सञ्चालनमा ल्याउँछु भन्नुभएको थियो । तपाईहरुले त सञ्चालनमा ल्याउनुभयो । यसमा कत्तिको मेल खान्छ ?

यसमा चै के छ भने देशको प्रधानमन्त्रीले एउटा सपना देख्नुभयो । नेपालमा पानी जहाज सम्भव छ । नेपालमा पानीजहाज चलाउँछु भन्ने उहाँको संकल्प, उहाँको परिकल्पना, उहाँको योजनाले हामीलाई नेपालमै पानीजहाज बनाउन सकिन्छ भन्ने कुरामा एकदमै उत्साहित बनायो त्यसकै प्रेरणाले नेपालमा चल्न सक्ने मिनीजहाज बनायौं जसमा म गर्व पनि गर्छु । यहि आकारका मिनीजहाज सप्तकोशी नदीसँगै, अरुण, कालिगण्डकी, दुधकोशी, नारायणी नदीहरुमा पनि चलाउन सक्छौं भनेर हामीले सञ्चालन गरेका हौं ।

हाम्रो कम्पनीले पानीजहाज बनाउने, खरिद बिक्री गर्ने, मर्मत सम्भार गर्ने उद्देश्य साथ स्थापना गरेका हौं । यो प्रधानमन्त्रीको सपनासँग मेल खान्छ । उहाँकै प्रेरणाले हामीले जेटबोट बनाउन सफल भएका हौं । हामीले यो कुम्भ महोत्सवमा उद्घाटन समारोहमा सहभागी भएर उहाँकै हातबाट जेटबोट उदघाटन गर्ने योजना बनाएका थियौ । तर मौसमको कारणले उहाँले सहभागिता जनाउन सक्नुभएन । त्यसकारण उहाँको हातबाट उद्घाटन हुन पाएन । समय मिलेछ भने नेपालमा बनेको पानीजहाज उहाँकै हातबाट उदघाटन गराउने सोच छ ।

५.जेट बोट सञ्चालन गर्ने बारेमा प्रधानमन्त्रीसँग सल्लाह गर्नुभएको थियो ?

त्यस्तो औपचारिक सल्लाह गरेका थिएनौ तर उहाँको सचिवालयसँग पटक–पटक कुरा गरेका थियौं । मेरो पनि जीवनको महत्वपुर्ण समय राजनीति र प्रधानमन्त्रीकै पार्टीमा व्यतित गरेको हुनाले उहाँसग मेरो राम्रो पहुँच छ ।

६.प्रधानमन्त्रीले यो कुरा थाहा पाउनु भएको छ ?

एकदम थाहा पाउनु भएको छ । उहाँ हामीप्रति निकै उत्साहित हुनुभएको छ । उहाँले यो कुम्भमेलासँगै जोडेर यो नेपालमै बनेको जेटबोटलाई महत्वको साथ हेर्नु भएको छ ।

७. यो जहाजमा चढ्नेलाई कत्ति महंगो पर्छ ?

हामीलाई खरिद गर्नलाई युरोपियन देशहरुमा भन्दा नेपालमै बनाएको चै संसारमै बनाएको सबैभन्दा सस्तो भनेर प्राविधिक साथीहरुले दाबी गर्नुहुन्छ । विगतमा भारतबाट ल्याएको भन्दा १ करोड सस्तोमा बनेको हो । भारतबाट ल्याएको २ करोड ५० लाख पर्याे भने यहाँ नेपालमा डेढ करोड रुपैयाँमा तयार भएको हो । हाम्रो लागतको हिसाबले सस्तो हो र उपभोक्ता, यात्रुहरुको लागि पनि यो सस्तै हो किनभने पाँच घण्टाको मोटरबाटोमा ७ सय ५० रुपैयाँ गाडी भाडा तिुर्नहुन्छ । कोचिएर बस्नुपर्छ । मनोरञ्जनपुर्ण यात्रा १५ मिनेटमा ४ सय रुपैयाँमै गर्नुहुन्छ । त्यसकारण एकदमै उहाँहरुको लागि सस्तो छ ।

८. स्टेशनहरु कुन कुन हुन् ?

जेट बोट चढिसकेपछि पहिलो स्टेशन नेपालकै प्राचिन नदी बराह क्षेत्र त्यसपछि त्रिवेणी त्यसपछि माईबेनी र अन्तिममा भोजपुरको कोप्चे सिम्ले हो ।

९. सबैको भाडा रेट एउटै हो ?

होइन । सबैको फरक फरक हो । बराह क्षेत्रको २ सय छ । त्रिवेणीको ३ सय ५० र सिम्लेको ४ सय छ ।

१०. यसको यात्रा कत्तिको सुरक्षित छ ?

अहिले सम्म त्यस्तो ठूलो कुनै दुर्घटना भएको छैन् । पहिलेदेखिनै सञ्चालनमा आइरहेको नै हो । तर पनि जलयात्रामा जाँदा यात्रीहरुले अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनुपर्छ । केहि कारणवश कोहि मानिसहरु उछिट्टिएर झर्यो भने पनि सहज तरिकाले उद्धार गर्न सकिन्छ । अर्को कुरा के भने हाम्रो बोटको सम्पुर्ण लागतको पनि बिमा गरेका छौ । प्रत्येक व्यक्ति यात्रुहरुको बिमा गरेका छौ । त्यसको साथै हाम्रो चालक, सहचालक र क्रु मेम्बर सबैको बिमा गरेका छौं । त्यसकारण एकदमै सुरक्षित छ भनेर हामी दाबी गर्न सक्छौ ।

११. यात्रुहरुलाई के भनेर आह्वान गर्नुहुन्छ ?

यहाँ हामीले २ वटा क्याटागोरीमा हाम्रो उपभोक्तालाई राखेका छौ । एउटा हाम्रो नियमित यात्रुहरु, जो आफ्नो गन्तव्यमा जानुहुन्छ । आफ्नो काम सक्नुहुन्छ अनि फर्कनुहुन्छ । नियमित आउजाउ गर्नुहुन्छ । उहाँहरुलाई हामी नियमित यात्रु भन्छौ । दोस्रो हामी पर्यटकहरुलाई ध्यान दिन्छौ । विश्वकै सस्तो जलयात्रा हो यो ।

यहि यात्रा हामीले सिंगापुुरमा गर्यौ भने कम्तीमा पनि नेपालको ५ हजार रुपैयाँ खर्चनुपर्ने हुन्छ । अन्य देशहरु जस्तै दुबई कतारहरुमा पनि लगभग ७ हजार तिर्नुपर्ने हुन्छ । नेपालमा यति ठूलो नदिमा यति सस्तो, मनोरञ्जनपुर्ण, सुन्दर प्राकृतिक दृश्य भएको ठाउँमा यति सहज रुपमा गराएका छौं ।

Logo