फेरि उठ्यो मझगाँउ विमानस्थलको मुद्दा, ‘सञ्चालनमा ल्याएरै छोड्ने प्रतिबद्धता’

फेरि उठ्यो मझगाँउ विमानस्थलको मुद्दा, ‘सञ्चालनमा ल्याएरै छोड्ने प्रतिबद्धता’

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी ।

कञ्चनपुर । लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि फेरि अभियान सुरु गरिएको छ । कञ्चनपुरका स्थानीय व्यापारीहरुले विानस्थल पुनः सञ्चालनको लागि भन्दै दबाव दिन थालेका हुन् । उनीहरुले सामाजिक सञ्जालबाट दबाव सिर्जना गर्नेदेखि लिएर जनप्रतिनिधिहरुसँग भेटघाट गर्ने सम्मका कार्यक्रम थालेका छन् ।

यसको अगुवाई गर्दै आएका महेन्द्रनगरका व्यापारी करनसिंह पालले अब विमास्थल सञ्चालन गराएरै छाडिने दाबी गरे । पश्चिमको सबैभन्दा बढी सम्भावना बोकेका क्षेत्र भएकाले पनि बन्द अवस्थामा रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

झण्डै दुई दशकदेखि मझगाँउ विमानस्थल बन्द छ । तत्कालिन सशस्त्र युद्धका बेला २०५४ सालमा सुरक्षाको कारण देखाउँदै बिमानस्थल बन्द गरिएको थियो । त्यसपछि कञ्चनपरबासीहरुले धनगढी विमानस्थल प्रयोग गर्दै आएका छन् । भारतीय राजधानी नयाँ दिल्ली, व्यापरिक क्षेत्र रुद्रपुर लगायतका भारतीय सहरहरु नजिक पर्ने भएकाले महेन्द्रनगर राम्रो व्यापारिक केन्द्र बन्ने पालको भनाई छ ।

भारतबाट आउने पर्यटकहरु नआउनुको कारण पनि विमानस्थल नै भएको उनको दाबी छ । उनी भन्छन्, ‘दिल्लीबाट आउने सबैभन्दा सुरुको नाका भनेकै महेन्द्रनगर हो । अहिले कोही पर्यटक आयो भने नेपालमा त बन्द हुन्छ । बाटैबाट फर्कने हो की भन्ने डरमा हुन्छन् । यहाँ एयरपोर्ट भयो भने उनीहरुसँग अप्सन हुन सक्छ । दिल्लीबाट महेन्द्रनगर हुँदै वाईएयर काठमाडौं जान सकिन्छ ।’

पर्यटकीय दृष्टिकोणले पनि कञ्चनपुर एकदमै राम्रो नाका भएको उनको भनाई छ । ‘यो नाका व्यापारिक नाका बन्न सक्छ र अवसर पनि छ । ठाउँ पनि छ । पहिला पनि प्लेन चलेको अहिले चै किन नचल्ने ? धनगढीमा ५ वटा चल्छ भने यहाँ एउटा त चल्ला । त्यहाँ ४ वटा आउँदा यहाँ एउटा त आउन सक्छ नि । यस्तो भनिरहँदा हामीले धनगढीसँग तुलना गर्न खोजेको हैनौ । यहाँ पनि राम्रो छ नि ।’ उनले भने ।

गत वर्षपनि विमानस्थल सञ्चालनको लागि कञ्चनपुर उद्योग बाणिज्य संघसहित २४ वटा व्यवसायी संघ संस्था एवं जनप्रतिनधि सहितले आन्दोलन नै गरेका थिए । केही समयपछि त्यो त्यक्तिकै सेलाएको थियो ।

भीमदत्त नगरपालिका वडा नम्बर १६ मझगाउँ स्थित विमानस्थल हाल गौचरणका रुपमा रहेको छ । मझगाउँ विमानस्थल ५२ विघा, १० कट्टा, १२ धुर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै २ किलोमिटर लामो धावनमार्ग रहेको छ । जुन अहिले गौचरनमा परिणत भएको छ ।

जसरी पनि एयरर्पोट सञ्चालनमा ल्याउनैपर्छः प्रदेशसभा सदस्य सुनार
सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनारले जसरी भएपनि मझगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउनैपर्ने बताए । समग्र कञ्चनपुर तथा सुदूरपश्चिम प्रदेशको विकासका लागि पनि एयरपोर्ट सञ्चालनमा आउनुपर्नेमा उनको जोड छ ।

भारत र चीनबाट आउने पर्यटकहरुलाई सुदूरपश्चिम प्रदेशमा भित्र्याउन सके समृद्धि हासिल गर्न एकदमै सहज हुने उनको तर्क छ । त्यसको लागि भएपनि एयरपोर्ट सञ्चालनमा आउनुपर्नेमा उनको जोड छ । उनकै पहलमा यो चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट ५ लाख रुपैयाँ बजेट बिनियोजित भएको छ । जुन रकम गौचरन र अतिक्रमणको चपेटामा परिरहेको विमानस्थलमा तारबार लगाउँन खर्च गरिनेछ ।

त्यस्तै प्रदेश सरकारबाट यसै आर्थिक वर्षमा थप १५ देखि २० लाख रुपैयाँ थप बजेट पाउने आश्वासन पाईएको सुनारको भनाई छ । अर्को वर्षको बजेटमा विमानस्थल सञ्चालनको लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने आश्वासन पाईएको उनको भनाई छ । यो विषयमा प्रदेश सरकार, मन्त्रीहरु पनि सकारात्मक देखिएका छन् ।

संघीय सरकारसँग छलफल चलिरहेको छः मेयर विष्ट
स्थानीय सरकारले पनि मझगाउँ एयरपोर्ट पुनः सञ्चालनको प्रमुख मुद्दा बनाएको छ । भीमदत्त नगरपालिकाले स्थानीय तहबाट हुने सबै प्रकारको सहयोग भईरहेको मेयर सुरेन्द्र विष्टले जानकारी दिए ।

संघीय सरकारलाई दबाव दिनेदेखि लिएर स्थानीय तहबाट आवश्यक पर्ने नीति नियम समेत बनाउने काम भईरहेको उनको भनाई छ । एयरपोर्ट सञ्चालनको लागि आवश्यक पर्ने बजेट संघीय सरकारले छुट्याउनुपर्ने भन्दै मेयर विष्टले भने, ‘अन्य आवश्यक पर्ने कुराहरु स्थानीय तहबाट हुन्छ ।’

Logo