केटी भगाएको भन्दै हातखुट्टा बाँधेर बाबु छोरालाई वडा कार्यालयमै कुटपिट

केटी भगाएको भन्दै हातखुट्टा बाँधेर बाबु छोरालाई वडा कार्यालयमै कुटपिट

केन्द्रबिन्दु
0
Shares

महोत्तरी । केटी भगाउन सहयोग गरेको भन्दै महोत्तरीमा बाबु छोरामाथि वडा कार्यालयमै निर्घात कुटपिट गरिएको छ । महोत्तरीको सोनमा गाँउपालिका १ की एक युवतीलाई भगाउन सहयोग गरेको भन्दै सोही गाउँका शंकर साह र उनका छोरा रामु साहमाथि कुटपिट गरिएको हो ।

गाउँपालिका प्रमुख राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र प्रमोद यादवले हातखुटा बाँधेर निर्घात कुटपिट गरेको उनीहरुको आरोप छ । जनप्रतिनिधिहरु नै कुटपिटमा संलग्न भएको कारण घटना ढिलो गरी सार्वजनिक भएको हो ।

वैशाख १८ गते भएको घटना सम्बन्धमा आयोजित छलफलकै क्रममा वडा कार्यालय परिसर भित्रै दुवैजनामाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनाको सम्बन्धमा ढिलो गरी निवेदन परेको र घटना सम्बन्धमा आवश्यक छानबिन भईरहेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट दुवै जनाको शरीरमा निलडामहरु रहेको र घाउ जाँचको लागि स्वास्थ्य संस्था पठाइएको प्रहरी निरीक्षक किशोर आर्चायले जानकारी दिए । भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका अध्यक्ष यादवले चेतावनी दिएपछि कुटपिट रोकिएको साहले बताए ।

गाउँपालिका प्रमुख राजकुमार यादवले भने आफूहरुलाई छलफल गराइदिन भन्दै दुबै पक्षले भनेको कारण छलफलमा सहभागी भएको र छलफलको क्रममा कुनै प्रकारको कुटपिट नभएको बताए । घटनालाई राजनीतिकरण गर्न खोजिएको र आफू र आफ्नो वडा अध्यक्षको उक्त कुटपिट घटनामा संलग्नता नरहेको दाबी गरे । प्रहरीले भने घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।

Logo