१८ वर्षसम्म श्रीमती बेपत्ता, श्रीमानको मृत्युपछि घरमा आएर गरिन् किरिया

१८ वर्षसम्म श्रीमती बेपत्ता, श्रीमानको मृत्युपछि घरमा आएर गरिन् किरिया

केन्द्रबिन्दु
0
Shares

पोखरा । पोखरामा एउटा अनौठो घटना बाहिर आएको छ । जसले गर्दा यतिबेला पोखरा आसपासमा त्यहि घटनाको चर्चा परिचर्चा भईरहेको छ । पोखरा महानगरपालिका–३२ खोलाछेउका इन्द्रबहादुर बास्तोलाले करिब १८ वर्षअघि चन्द्रमासँग विवाह गरे । घरमा आमाबाबु मात्र थिए । दवावमै विवाह गरियो । विवाह गरेको केही समयपछिबाटै श्रीमान–श्रीमतीबीच ठाक–ठुक सुरु हुन थाल्यो । विस्तारै–विस्तारै दिनप्रतिदिन झगडा पर्न थाल्यो । त्यसपछि चन्द्रमा घरबाट भागिन् । उनी बेपत्ता भईन् । धेरै पटक उनको खोजी गरियो । तर भेट्टिईनन् । त्यसपछि भने इन्द्रबहादुरले खोज्न छोडे ।

गाउँ घरमा सबैले पोईल गएको अनुमान लगाईरहे । इन्द्रबहादुर पनि पोईल गएकोमा ढुक्क थिए । सबैले उनलाई बिर्सिसकेका थिए । एक वर्षअघि इन्द्रबहादुरको निधन भयो । उनका दाजुभाईले किरिया गरे । इन्द्रबहादुरको मृत्युबारे चन्द्रमालाई कसैले जानकारी गराएनन् । उनले पनि एक वर्षसम्म थाहा नै पाईनन् । तर अहिले आएर उनी श्रीमानको किरियामा बसेकी छन् । श्रीमान वितेको अहिले आएर थाहा पाएको भन्दै उनी घरमै आएर किरियामा बसेकी हुन् ।

चन्द्रमाले भने अहिलेसम्म बाहिर रहेको बताएकी छन् । आफु कुबेतमा रहेको भन्दै उनले श्रीमान वितेको भन्ने नेपाल फर्किएपछि मात्र जानकारी पाएको बताईन् । ‘नेपाल आएर श्रीमान बित्नुभएको जानकारी पाए । जानकारी पाएलगत्तै किरियामा बसेकी हुँ । म कुनै सम्पत्तिको लोभले किरिया बसेकी होईन् । आफ्नो धर्म अनुसार नै किरियामा बसेकी हुँ’ उनले भनिन् ।

अब सम्पत्तिको लफडाः
इन्द्रबहादुरको नाममा रहेको जग्गा आमाको नाममा गरियो । उनको कोही पनि नभएको भन्दै वडा कार्यालयबाट गरिएको सिफारिसका आधारमा आमाको नाममा नामसारी गरिएको थियो । अहिले आएर वडा कार्यालय चन्द्रमाले सम्पत्ति पाउनुपर्ने दाबी गर्दै आएको छ ।

इन्द्रबहादुरको नाममा रहेको जग्गा आमाको नाममा नामसारी गर्दा यसको सम्पत्ति खानेवाला कोही छैन् भन्दै सिफारिस गर्ने वडा कार्यालय अहिले आएर चद्रमाले सम्पत्ति पाउनुपर्ने दाबी गरिरहेको हो । इन्द्रबहादुरका परिवारले भने उनी सम्पत्ति हडप्न किरियाको नाटक गरिरहेकी आरोप लगाएका छन् । आफन्त तथा गाउँलेहरुले पनि उनीमाथि यस्तै आरोप लगाएका छन् । यतिबेला यो प्रकरणले पोखरा चर्चामा छ ।

Logo