हिजो विवाह मण्डपमा बसेका बेहुला आज बाबुको काजक्रियामा

हिजो विवाह मण्डपमा बसेका बेहुला आज बाबुको काजक्रियामा

केन्द्रबिन्दु
0
Shares

पाल्पा । निस्दी गाउँपालिका ४ हुवासका श्यामबहादुर सारु सोमबार बिहानसम्म खुशी फुरुङ्गै थिए । खुशी हुन पनि किन नहुन र बेहुला बन्दा । एक साताअघि प्रेम विवाह गरेका श्यामबहादुर विवाहको टिकाटालो गर्न श्रीमतीको माईतीघर जाने तयारीमा थिए । उनको घरमा बाबु सन्तबहादुर सारुपनि उक्तिकै खुशी थिए ।

२२ वर्षीय श्यामबहादुरको सोही गाउँपालिका वडा नम्बर ४ मित्याल भीरपानी गाउँकी २२ वर्षीया लालमाया वयाम्बु मगरबीच प्रेम विवाह भएको थियो । लामो प्रेम सम्बन्धलाई उनीहरुले एकसाता अघि मात्रै प्रेम विवाहमा परिणत गरेका थिए । उनीहरुले वैशाख ९ गते विवाह गरी भित्र्याएका थिए ।

विवाहको ढोगभेट फुकाउन जाने लगनको दिन भएकाले सन्तबहादुरको परिवारमा खुशी छाएको थियो । बिहानैदेखि सिँगार–पटार र जन्त जानेहरुको चहलपहल थियो । अर्कोतिर भोज भतेर पनि भईरहेको थियो ।

बेहुला श्यामबहादुर सोमबार आफै पनि जन्ती जानका लागि चाहिने सरसामान जुटाउने र त्यसको व्यवस्थापन गर्दै जीपमा बाजागाजा र जन्तीसहित बेहुलीको माइततर्फ लागे । माईत पुगेपछि उनीहरुको खुशीको सिमानै रहेन् । त्यहाँ पुगेपछि खुशै रमाईलो भयो । मगर समुदायको रीतिरिवाजअनुसार टीकाटालो भयो । दिउँसो अबेरसम्म खानपिन गर्दै साँझ घर फर्किए । निस्दी गाउँपालिका प्रमुख मुक्तबहादुर सारुका अनुसार जन्ती सबै मदिराले लठ्ठ थिए । जीप चालक पनि मदिराको नसामा थिए ।

गाउँपालिका प्रमुख मुक्तबहादुर सारुका अनुसार बेहुलीको घरबाट बिदावारी भएर निस्केको जन्तीको टोली निस्दी गाउँपालिका वडा नम्बर ६ को अर्चले धोबला र ७ को ज्यामिरेका बीचमा चारघरे भन्ने स्थानसम्म सकुशल आइपुग्यो । जहाँ कच्ची सडक र अफ्ठ्यारो बाटो सुरु भएपछि सबैलाई ओर्लन लगाइयो । १२ १३ जना चढेको जीपबाट बुढापाकाबाहेक अरु सबै जना ओर्लिए । जीपमा ६ जनामा चढे ।

त्यहाँबाट केही पर पुगेपछि अन्कन्टार भीरबाट खस्यो । जीपमा सवार ६ जनामध्ये एक जना भने हाम्फालेर बाँच्न सफल भए । अरू ५ जनाको ज्यान गयो । लु १ ज १९४१ नम्बरको जीप निस्ती गाउँपालिका ६ को अर्चले धोबला र वडा नम्बर ७ को ज्यामिरे चारघरे भन्ने स्थानको भीरबाट करिब ३ सय मिटर तल खस्दा पाँचै जनाको घटनास्थलमै ज्यान गयो ।

दुर्घटनमा परेर निस्दी गाउँपालिका ७ चारघरेगाउँका ४६ वर्षीय खड्गबहादुर सोमै, सोही स्थानका ५६ वर्षीय देवीलाल खन्गाह, सोही स्थानका ४६ लालबहादुर सारु, ५८ वर्षीय सन्तबहादुर सारु र जिप चालक निस्दी गाउँपालिका ६ का अन्दाजी २८ वर्षीय बुद्धिबल सोतीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा हाम्फालेर निस्दी गाउँपालिका वडा नम्बर–६ हुवास गाउँका २७ वर्षीय रेमबहादुर घर्ती हाम फालेर बाच्न सफल भएको पाल्पा प्रहरी प्रमख एसपी विश्वमणी पोखरेलले जानकारी दिए ।

दुर्घटनामा परी बेहुलाका बाबु सन्तबहादुर सारुको पनि ज्यान गएको छ । सोमबार रातिसमेत क कसको ज्यान गएको भन्ने यकिन भएको थिए । गाउँपालिका प्रमुख सारुले दिएको टेलिफोन जानकारी अनुसार रातको अन्धकारमा अन्कटार भीरमा कोकसका शव कहाँ छन् भन्ने अत्तोपत्तो थिएन । भीरमा शवहरु यत्रतत्र छरिएका थिए । मध्यराति नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले शवमाथि बाटोमा ल्याएको थियो । अनकन्टार भीरमा डोरी र बाँसको सहायताले तिनवटै सुरक्षा निकायले भीरबाट शवमाथि ल्याएका थिए ।

दुर्घटनाबाट बेहुलाबेहुली बाँचे पनि उनीहरुले दुर्घटनामा बाबु भने गुमाए । हिजो जग्गेमा रहेका बेहुला आज बाबुको मलामी र किरियामा बसेका छन् । सोमबार दिनभर एकदमै खुशी देखिएको उनको परिवारमा एकाएक सन्नटा छाएको छ । सोमबार दिनभर गीत घन्किरहेको घरमा आज शंख ध्वनी बजिरहेको छ । परिवार नै रुवाबासी गरिरहेको छ ।

(निस्दी गाउँपालिका प्रमुख मुक्त बहादुर सारुसँग गरिएको टेलिफोन कुराकानीको आधारमा)

Logo